मेलम्चीलाई स्थायी बनाउन ५० करोड लागानी हुँदै
2022-12-13 15:56:52CRI
Share with:

मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरु भएको छ । मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो। राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि सकेसम्म जेठ मसान्तभित्र नै नयाँ संरचना बनाउने नभए आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ संरचना थप गर्ने कार्य अगाडि बढाउने तयारी भएको छ । दुई दशकदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामा थप संरचना निर्माण गरेर भए पनि बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने तयारी भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । 

आधा खर्बभन्दा बढी लगानी खर्चिएर निर्माण भएको आयोजना विपत् प्रभाव मूल्यांकन नगरी निर्माण हुँदा आयोजना नै अस्थायी बनेको छ । संरचना थप गर्न ४० देखि ५० करोड लाग्ने अनुमान छ । हालकै मुहानमा थप संरचना बनाए पनि आयोजना भने स्थायी नहुने समितिको भनाइ छ । समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बाह्रै महिना उपत्यकाबासीको धारामा मेलम्चीको खानेपानी वितरण गर्ने लक्ष्यका साथ हालकै मुहानमा थप नयाँ संरचना निर्माण गर्न आधा अर्बको हाराहारीमा लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो।

“अहिलेको अवस्था हेर्दा ६ महिना मेलम्ची बन्द गर्नुपर्ने र ६ महिना मात्रै आयोजनाको पानी उपभोक्ताले उपभोग गर्न पाएका छन् । खानेपानीको सहज उपलब्धताबाट उपभोक्तालाई वञ्चित नगराउन थप संरचना अहिलेकै मुहानमा बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको छ,” उहाँले भन्नुभयो, “तर गत वर्षको जस्तै ठूलो बाढी आएमा संरचना थप गरिए पनि बगाएर लान सक्छ । प्रारम्भिक अध्ययनअनुसार हालको मुहानमा स्थायी संरचना बनाउन सम्भव देखिँदैन, नयाँ मुहान खोज्नुपर्ने हुन्छ । यसो हुँदा समय र लागत पनि फेरि धेरै लाग्ने छ ।”

मेलम्चीमा बाढी आए नयाँ संरचना थप गर्दा लाग्ने आधा अर्ब फेरि जोखिममा पर्ने देखिन्छ। श्रेष्ठले भने अब मेलम्चीमा ठूलो बाढीको खतरा नहुने विज्ञहरुले सुझाव दिएको भन्दै हालका लागि थप संरचना बनाएर जाँदा कम समय र लागत लाग्ने बताउनुभयो। “मेलम्ची नदीमा ठूलो बाढी आएन भने त नयाँ संरचना थप गरेपछि यही आयोजना नै स्थायी पनि बन्न सक्छ । बाढी आयो भने भन्न सकिँदैन । गत वर्षको जत्तिको बाढी थेग्ने आयोजना निर्माण गर्न छुट्टै मुहानबाट पानी ल्याउनुपर्छ,” उहाँले थप्नुभयो। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले मेलम्चीमा जुनसुकै बेला जत्रो पनि बाढी जान सक्ने बताउनुभयो। “गत वर्ष सय वर्षमा एक पटक आएको थियो । पानी धेरै पर्यो, पहिरो गयो, नदीको पानी थुनियो अनि बाढी आयो,” उहाँले भन्नुभयो, “तर अब पनि सय वर्षसम्म बाढी जाँदैन भन्न मिल्दैन, जहिले पनि बाढी आउन सक्छ।” 

जोशीले भनेजस्तै जुनसुकै बेला बाढी आउन सक्ने हुँदा फेरि थप गर्ने तयारी गरिएको नयाँ संरचना पनि जोखिममा पर्न सक्छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा २०७८ सालमा आएको भिषण वर्षा र पहिरोसँगै बालुवाको लेदो बगेर मेलम्ची खानेपानीको आयोजनामा क्षति पुगेको थियो । मुहानमा नै समस्या देखिएपछि आयोजना हिउँदमा चल्ने र वर्षायाममा नचल्ने गरी अस्थायी बनेको छ । आधा खर्ब रुपैयाँ लगानी भएको आयोजना वर्षभरि सञ्चालनमा ल्याउने गरी सरकारले गरेको नयाँ संरचना थप गर्ने योजना पनि दिगो देखिँदैन।

कारोबार अनलाइनका अनुसार काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्ने तयारी भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार शुक्रबारदेखि सुरु गरिएको खानेपानी वितरण हाल १० करोड लिटरसम्म पुगेको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर पानी वितरण भइरहेको समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनुभयो।