मध्य भोटेकोसीबाट असारअगावै बिजुली
2022-12-13 15:51:59CRI
Share with:

भूकम्प, बाढीपहिरो, कोभिड र कमजोर आन्तरिक व्यवस्थापनका कारण १० वर्षदेखि अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आगामी असारअगावै बिजुली उत्पादन गर्ने तयारी गरेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको मध्य भोटेकोसीको व्यवस्थापन सुधार्न डेढ वर्षदेखि प्रयास गरिएको थियो । अब भने निकट भविष्यमै विद्युत् उत्पादनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताउनुभयो। 

बाँध, सुरुङ र पावर हाउस निर्माण अन्तिम चरणमा छन् । बेलाबेलामा हुने स्थानीय समस्या र प्राकृतिक प्रकोप आयोजनाका लागि बाधक बनेकाले लगानी नै डुब्ने हो कि भन्नेसम्मको परिस्थिति बनेको आयोजनाका प्राविधिक बताउँछन् । अहिले भने स्थानीय अवरोध हटेको छ । पावर हाउसमा इलेक्ट्रोमेकानिकलको मुख्य काम भइरहेको छ । पछिल्लो समय ०७७ को भोटेकोसी बाढीले स्टोर गरेको इलेक्ट्रोनिक सामानमा क्षति गरेपछि अहिले सामान झिकाएर उक्त कामलाई तीव्रता दिइएको छ । आयोजनामा इलेक्ट्रोमेकानिकलको काम भइरहेकोमा छ महिनाभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको शिवाकोटीको भनाइ छ । 

भोटेकोसी गाउँपालिकाको चाकुमा बाँध निर्माण गरी बाह्रबिसे नगरपालिकाको जम्बुमा पावरहाउस निर्माण गरिएको आयोजनाको ७ किमि सुरुङ ब्रेक–थ्रु गत साउनमा गरिएको थियो । हाल सुरुङको ‘फिनिसिङ’को काम भइरहेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले सर्वसाधारणलाई सेयरसमेत वितरण गरिसकेको छ ।

०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको मध्य भोटेकोसी पावर कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् । कान्तिपुर अनलाइन।