अर्थतन्त्र सुधार हुँदै गएको नेपाल सरकारको दाबी
2022-12-14 15:23:08cri
Share with:


सरकारले अर्थतन्त्र सुधारउन्मुख भएको दाबी गरिरहँदा निजी क्षेत्रले भने समस्या बाँकी रहेको बताएको छ। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभामा अर्थमन्त्री र गभर्नरले अर्थतन्त्र सुधार हुँदै गएको बताए। तर उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघका प्रतिनिधि ले निजी क्षेत्रलाई सरकारले फरक नजरले हेरेको आरोप लगाए। र, निजी क्षेत्रका समस्या सबैका समस्या रहेको बताए।

 

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सकरात्मक दिशातर्फ अघि बढेको दाबी गर्दै भन्नुभयो, ‘उत्पादन र आयातबीचको फरक छुट्याई उत्पादनतर्फ ध्यान दिनुपर्छ। पछिल्लो आर्थिक परिस्थिति हेर्दा निर्यात गर्ने वस्तु सूचीकृत गर्दै अघि बढ्नुपर्छ।’जलविद्युत क्षेत्रले इन्धन आयातलाई प्रतिस्थापन गर्न सकिने उहाँले बताउनुभयो। यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताउनुभयो। अधिकारीले तरलता केही सहज बन्दै गएको दाबी गर्दै पुसमा केही असहज हुने बताउनुभयो।

निजी क्षेत्र प्रताडित भएको उल्लेख गर्दै उहाँले केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने तर निजी क्षेत्रले राष्ट्र बैंकका नीतिमा हस्तक्षेप गर्न माग गरेकोमा भने असन्तुष्टि जनाउनुभयो।

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीचको समन्वय नहुँदा ठुलो समस्या हुने गरेको बताउनुभयो। ढकालले निजी क्षेत्रले उठाएका मुद्दा निजी क्षेत्रका मात्रै नभई समग्र अर्थतन्त्रसँग जोडिएको जिकिर गर्नुभयो। निजी क्षेत्रमा समस्या आउँदा सर्वसाधारणलाई अप्ठेरो हुने उहाँले बताउनुभयो।  

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई फरक रूपमा नसोचेको भन्दै निजी क्षेत्र र सरकार एकै रथका दुई पांग्रा भएको बताउनुभयो।  नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले विभिन्न क्षेत्रगत रूपमा समस्या पहिचान गरी अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयो। नेपालखबर अनलाइन।