कालीगण्डकी करिडोर निर्माण अघि बढ्दै
2022-12-15 15:12:50cri
Share with:

करिब तीन वर्षदेखि रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण अघि बढेको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो।

 

रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माण सुरु गरिएको छ। विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो।

 

पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने चार सय ५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णुभट्टराई बताउनुहुन्छ। स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उहाँले बताउनुभयो।

वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराई बताउनुहुन्छ। सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन।  नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ। रासस