सप्ताहव्यापी आप्रवासी श्रमिक दिवस मनाइने
2022-12-16 16:57:16cri
Share with:

‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने भएको छ । देशभर सप्ताहव्यापी रूपमा मनाइने उक्त कार्यक्रम शुक्रबारदेखि बिहीबारसम्म सञ्चालन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो ।
 
पत्रकार सम्मेलनमा श्रमसचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई क्यासलेस, फेसलेस र पेपरलेस बनाएर सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने काममा राम्रो उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो । वैदेशिक रोजगारीका नाममा हुने नयाँनयाँ तरिकाले हुने ठगी रोक्न अझै चुनौती रहे पनि वैदेशिक रोजगारीका मूलभूत कार्यलाई व्यवस्थित गरिसकेको उहाँको भनाइ छ ।
 
सचिव अर्यालले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमशक्तिका लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सामाजिक पुनः एकीकरण एवं पुनस्र्थापना तथा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्नेजस्ता महत्वपूर्ण काम भइरहेको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणका लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९, मार्फत स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको छ । उहाँले अन्तर्राष्ट्रिय श्रम बजारमा उच्च माग भएका दक्ष एवं सीपयुक्त उत्पादनका लागि स्थानीय तहमार्फत श्रमिकलाई वैदेशिक रोजगारसम्बन्धी पूर्ण ज्ञान प्रदान गर्न सकेमा मात्रै वैदेशिक रोजगार मर्यादित र व्यवस्थित बनाउन सकिने भएकाले स्थानीय तहलाई बढी सक्रिय र जिम्मेवार बनाउन लागिएको बताउनुभयो ।
 
मन्त्रालयले यसरी सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएको गोरखापत्र अनलाइनले जनाएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०६५/६६ देखि २०७८/७९ सम्म दुई लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना श्रमिकले श्रम स्वीकृति लिएर विदेश गएका छन्।