पर्यटन क्षेत्र नाफामा, १८ अर्ब आम्दानी हुँदा १० अर्ब खर्च
2022-12-17 16:49:12cri
Share with:

नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा ठूलो रकम विदेशिनु हो।
 
नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।
 
समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।
 
अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि विदेशिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात सो आवको चार महिनामा भ्रमणमा विदेशिने रकम ९ अर्ब ४९ करोड रहेको थियो ।
 
तथ्यांक अनुसार नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम भने गत आवकै हाराहारीमा छ । यसवर्ष पर्यटक आगमन बढ्दा यस क्षेत्रको आम्दानीमा वृद्धि भएको हो । सन् २०२२ को नोभेम्बरसम्म ५ लाख ४२ हजार ९७५ जना पर्यटक आइसकेका छन् । सन् २०२१ मा पर्यटक आगमन मात्र १ लाख ४९ हजार ८३३ जना मात्र रहेको अनलाइनखबरले जनाएको छ।