बिजुलीको बजार खोज्दै नेपाल
2022-12-18 15:56:56cri
Share with:

नेपालमा बिजुली उत्पादन बर्सेनि बढ्दै गएका बेला त्यसको बाह्य बजार सुनिश्चितता खोजीमा ऊर्जा उत्पादन क्षेत्रमा संलग्न सरकारी तथा गैरसरकारी निकाय लागेका छन् । नेपालमा उत्पादित बिजुलीको प्रमुख बाह्य बजार भारत र बंगलादेश हुन् । पूर्ण क्षमतामा हाल २ हजार २ सय ५३ मेगावाट उत्पादन हुँदा त्यसबाट करिब ५ सय मेगावाट बिजुली खपत नहुने अवस्था छ । यसै वर्षबाट ३ सय ८६ मेगावाट बिजुली भारतमा बेच्न थालिएको छ ।
नेपालको प्रणालीमा अर्को वर्ष सन् २०२३ मा थप एक हजार मेगावाट उत्पादन थपिँदै छ । हरेक वर्ष उत्पादन थपिँदै गएर सन् २०२६ सम्ममा अहिले निर्माणाधीन परियोजनाले उत्पादन थालिसक्दा नेपालको बिजुली उत्पादन क्षमता ७ हजार २ सय ६४ मेगावाट पुग्ने बताइन्छ । तसर्थ आगामी ३ देखि ४ वर्षभित्र ५ हजार मेगावाट बिजुलीको बजार सुनिश्चितता बाह्य मुलुकमा गर्नुपर्नेछ । यसैअन्तर्गत ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ऊर्जा उत्पादकले नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रम ‘पावर समिट’ मा नेपालको ऊर्जा क्षेत्रको सम्भावना, उत्पादन र बजारबारे वकालत गरे ।
 
भारतीय उद्योगी व्यवसायीहरूको संस्था द एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (सीआईआई) ले शुक्रबार गरेको दक्षिण एसिया (बीबीआईएन) पावर समिटको ‘प्लेटफर्म’ लाई नेपालका सहभागीहरूले आफ्नो पक्षमा उपयोग गर्ने प्रयास गरे । ‘बीबीआईएन’ मा नेपाल, भारत, बंगलादेश र भुटान सदस्य राष्ट्र छन् । भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क निष्क्रिय बनाइएका बेला पछिल्लो समय भारतले ‘बीबीआईएन’ लाई सक्रिय पार्दै लगेको छ । कार्यक्रममा चारै देशका ऊर्जासँग सम्बन्धित अधिकारी तथा अन्य सरोकारवालाले ऊर्जाको अन्तरदेशीय बजार कसरी बढाउने, त्यसको सम्भावना र चुनौतीबारे छलफल गरे । नेपालको बजार सानो रहेकाले भारत र बंगालदेश नै नेपाली बिजुलीको बजार रहेको र त्यसमा सहजताका लागि नेपाली पक्षको आग्रह रहेको कान्तिपुर अनलाइनले जनाएको छ।
उत्पादनको क्षमता रहे पनि खपतको क्षमता नेपालसँग नरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। दक्षिण एसियाको ऊर्जा संकट कम गर्न नेपाल तयार हुँदै गरेको उहाँको भनाइ छ । बिजुली उत्पादनसँगै, बजार व्यवस्थापन र प्रसारण लाइन निर्माणमा आफूहरू लागिपरेको उहाँले जनाउनुभयो। गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुई देशबीच ऊर्जा व्यापारका क्षेत्रमा भएका सहमतिले धेरै आशा जगाएको प्राधिकरणकै निर्देशक प्रबल अधिकारीको भनाइ छ । भारतको सीमापार विद्युत् व्यापार निर्देशिकालाई संकेत गर्दै उहाँले त्यसमा सुधारको अनुरोध गर्नुभयो । भारतले आफूसँग सीमा जोडिएको देश जोसँग ऊर्जा व्यापार सम्झौता भएको छैन, त्यस देशको स्वामित्व रहेको वा उसले लगानी गरेको परियोजनाबाट बिजुली नकिन्ने नीति लिएको छ । त्यसको असर नेपालमा चिनियाँ पक्षको थोरै पनि संलग्नता रहेका परियोजनालाई परेको छ । अहिले नै अपर तामाकोसीबाट उत्पादित ४ सय ५६ मेगावाट बिजुली किन्न भारतले आनाकानी गर्दै आएको छ । त्यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । परियोजनामा भने २० लाखभन्दा बढी नेपालीको सेयर छ ।
नेपालले बिजुली उत्पादनमा मार्दै गरेको फड्कोबारे छिमेकी देशका सरकोकारवालालाई जानकारी गराउने अवसर प्राप्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) उपाध्यक्ष आशिष गर्गले बताउनुभयो। ‘हामीकहाँ प्रत्येक वर्ष बढ्दै गएको उत्पादनबारे भारतीय पावर मार्केटलाई जानकारी गराउने काम समिटमा भएको छ,’ उहाँले भन्नुभयो, ‘नेपालको बिजुली सस्तो र जलविद्युत्बाट उत्पादित रहेकाले वातावरणमैत्रीसमेत रहेको बारे जानकारी गराएका छौं ।’
समिटमा भारतको विदेश मन्त्रालयका अधिकारी प्रभात कुमारले नेपालको बिजुली भारतले निरन्तर लिइरहने र त्रिदेशीय निर्यातमा पनि सहयोगी रहने बताउनुभयो। ऊर्जा क्षेत्रका लागि भारतका नीति निर्मातादेखि खरिदकर्तासम्म उपस्थित रहेको ‘पावर समिट’ मा नेपालले आफ्ना सबै पक्षबारे कुरा राखेको र भारतीय सरोकारवालाबाट सकारात्मक प्रतिबद्धता आएको इप्पानका कार्यकारी निर्देशका शैलेश मिश्रको भनाइ छ ।