पूर्वी नेपालको धनकुटामा होमस्टेद्वारा पर्यटकको आकर्षण
2022-12-18 15:55:05cri
Share with:

एउटै ठाउँमा उभिँदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण त अर्कोतिर मधेसको समथर फाँट नियाल्न सकिन्छ। धनकुटाको साँगुरीगढी–५ स्थित ध्वजेडाँडाको टुप्पोमा चिटिक्क परेको बस्ती छ । क्रमशः ठण्डी छिप्पिँदै छ तर पनि यहाँ आगन्तुकलाई त्यसको पर्वाह हुन्न । बरु घरबास (होमस्टे) मा बसेर आसपासका रमणीय दृश्य नियाल्दै रमाउँछन् । भेडेटार, नाम्जे हुँदै डाँडाबजारबाट डेढ घण्टा उकालो चढेपछि उक्त स्थान पुगिन्छ । धनकुटा र मोरङको सिमाना भएर निर्माण गरिएको कच्ची सडकमा सवारीसाधनबाट समेत त्यहाँ पुग्न सकिन्छ । धेरैजसो पैदल हिंडेरै होमस्टे गाउँ पुग्ने गरेको स्थानीय होमस्टे संचालक त्रिलोचन घिमिरेको भनाइ छ।
प्राकृतिक रमणीयतामा भुल्नकै लागि आएको इलामका महेश राईको भनाइ छ । पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको ध्वजेडाँडा समुद्र सतहदेखि २ हजार ४७ मिटरको उचाइमा छ । महाभारत पर्वत शृंखलाअन्तर्गत यस क्षेत्रकै दोस्रो अग्लो डाँडा हो यो । ध्वजेमा सूर्योदयको अद्भुत दृश्य हेर्नु नै पर्यटकको ध्येय हुने गरेको छ। अर्को चर्चित पर्यटकीयस्थल भेडेटारबाट १३ किलोमिटर पूर्वमा उक्त थलो छ ।
 
रातको समयमा यहाँबाट पूर्वका अधिकांश स्थानका सहरबजारको झिलिमिली नियाल्न सकिन्छ । नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर छुट्याउन समेत विशेषज्ञले ध्वजेलाई प्रयोग गर्ने गरेको विकिपिडियामा उल्लेख छ । नजिकको वनमा विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा वनस्पति पाइन्छ । यो डाँडाको फेदीस्थित लाप्चेटारमा रहेको अजगंको बरको रुख पनि पर्यटकको रोजाइ हो । ध्वजे नजिकै रहेको जैतुन पार्कसमेत हेर्न लायक स्थान हो ।
 
९५ प्रतिशत मगर जातिको बसोबास रहेको उक्त क्षेत्रमा सञ्चालित होमस्टेमा मौलिक परिकारको स्वाद जिब्रोमा झुन्डिने गरेको धरानबाट पुगेका संकल्प राई बताउँछन् । अझ उक्त जातिको मौलिक संस्कृति झल्कने हुर्रा लगायत नृत्यमा रमाउँदाको मज्जै बेग्लै हुन्छ।
यस्तै नाम्जे थुम्की होमस्टेमा आउने पर्यटकले आत्मा बस्ने घर, सूर्योदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरिका टावर, तराईका समथल भू–भागको अवलोकन गर्छन् । पाहुनाले स्थानीयले उत्पादन गरेका तरकारी र फलफूल खरिद गरेर लैजाने गरेकोले व्यवसाय समेत फस्टाएको छ ।