आइतबारदेखि काठमाडौंमा ‘१०० प्रतिशत नवीकरणीय ऊर्जा: नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन, खनिज इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड।
2022-12-19 15:09:38CRI
Share with:

विश्व तापक्रम वृद्धिदरलाई  १.५ डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। यसका लागि नवीकरणीय ऊर्जा भरपर्दो विकल्प भएको भन्दै उनीहरुले खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘१०० प्रतिशत नवीकरणीय ऊर्जा : नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा यस्तो बताइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा घोषणाको गरेको सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई खुद शून्यमा झार्ने महत्वाकांक्षी योजना सबै क्षेत्र मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नवीकरणीय ऊर्जा, ऊर्जा मिश्रण र ऊर्जा रुपान्तरणमा नेपाल सरकारले चालेका कदमहरू स्वातगयोग्य रहेको भन्दै प्रकृति रिसाेर्सेज सेन्टरका कार्यक्रम निर्देशक राजु पण्डितले नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग सँगसँगै खनिज इन्धन प्रतिस्थापनको योजना पनि निर्धारण गर्नुपर्ने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारी ‘१०० प्रतिशत नवीकरणीय ऊर्जा, नीति अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलनमार्फत् नेपालले  नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा गरेका प्रयासहरुलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अवसर प्राप्त हुने बताउनुभयो ।

सम्मेलनमा सङ्घीय, प्रादेशिक, र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशका प्रतिनिधिको सहभागिता छ । शतप्रतिशत नवीकरणीय ऊर्जा परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, प्रकृति रिसोर्सेज सेन्टर र डब्लु डब्लु एफ नेपालको संयुक्त आयोजनामा रहेको सम्मेलनमा नवकरणीय ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय नीति, अभ्यास र प्रविधिसम्बद्ध सिकाइ आदानप्रदान हुने अपेक्षा आयोजक पक्षको रहेको गोरखापत्र अनलाइनमा समाचार छ।