पोखरा विमानस्थलको संचालन अन्तर्राष्ट्रिय उडानबाट हुने
2022-12-20 14:35:33cri
Share with:

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अन्तर्राष्ट्रिय उडानबाट हुने भएको छ। पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।  

हवाई सेवा क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस रुटमा हुने बताएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पोखरा–वनारस रुटमा बुद्ध एयरको पहिलो उडान हुने बताउनुभयो। उहाँका अनुसार जनवरी १ मा बुद्ध एयरको पोखरा–वनारस रुटको उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ।

उहाँका अनुसार पोखरा–वनारस रुटमा उडान भर्नका लागि बुद्ध एयरले प्राधिकरणमा निवेदन पनि दिईसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात अन्तर्राष्ट्रिय उडानबाटै हुनुपर्ने पोखरेलीले समेत यसअघि माग गर्दै आएका थिए। पोखराबारे सकारात्मक सन्देश फैलाउनका लागि अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको पोखरेलीको भनाई थियो। 

सूचना अधिकारी भुलका अनुसार तत्कालका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि दिउँसोको समयमा मात्र उडान संचालन हुनेछ। क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण)को अन्तिम रिपोर्ट नआइसकेको र केही तयारी नपुगेकोले अहिले नै रात्रीकालिन उडान भने हुने छैनन्। बढिमा एकमहिनापछि मात्र रात्रीकालिन उडान सुरु हुनेछ। 

उहाँका अनुसार सुरुवाती चरणका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार नै उडान र अवतरण हुनेछ। इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर)का लागि भने एकमहिना जति लाग्ने उहाँले बताउनुभयो। पोखराको हालको चालु विमानस्थलबाट पनि भिएफआर प्रविधिमा उडान र अवतरण हुन्छ। भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ। 

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले पनि पोखराबाट पहिलो उडान भारतको वनारस गर्न थालेको जानकारी दिनुभयो। उहाँका अनुसार जनवरी १ मा पोखरा–वनारस उडान गर्नका लागि बुद्ध एयरले सबै तयारी गरेको छ। रुट अनुमतिका लागि पनि प्रक्रिया अघि बढाइएको छ।

विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ्। जनवरी १ तारिखमा विमानस्थल उद्घाटन गर्नका लागि प्रधानमन्त्री देउवा सहित राजनीतिक दलका शीर्ष नेता पोखरा आउने नागरिकन्यूज डटकमले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी १ का दिन विमानस्थल उद्घाटन गर्नका लागि तयारी अघि बढिरहेको बताएको छ।