पूर्वी नेपालको उदयपुरमा खाना महोत्सव
2022-12-20 14:37:00cri
Share with:

उदयपुरको सदरमुकाम गाईघाट बजारमा प्रदेशस्तरीय दोस्रो उदयपुर खाना परिकार महोत्सव (फुड फेस्टिबल) सुरु भएको छ। विभिन्न जातजातिका छरिएर रहेका कला र संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा पहुँच पु-याउने स्वरोजगार समृद्धिको मूल आधार भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

झीगु नेवाः पुच र नेवा देय्दबु उदयपुरको आयोजनामा भएको उक्त महोत्सवको प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले सोमबार गाईघाटमा उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले महोत्सवले प्रदेश १ को कला संस्कृतिलाई थप उजागर गरेको बताउनुभयो। 

उहाँले विभिन्न जातजातिको पहिचान कला, वेशभूषा, रहन सहन, धार्मिक तथा सांस्कृतिक परम्परा, भाषा तथा साहित्यको संरक्षण गर्न, जातजातिबीच सांस्कृतिक तथा धार्मिक सद्भाव र सामाजिक एकता अभिवृद्धिमा साथ रहने बताउनुभयो। लोक संस्कृतिको उत्थान तथा जगेर्ना गर्न प्रदेश १ को सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास समेत व्यक्त गर्नुभयो। 

खाना तथा परिकार महोत्सवमा ३० जातिको खानाको स्टल राखिएको गोरखापत्र अनलाइनले जनाएको छ। विशेष गरी नेवारी खानाका परिकारहरू छोयला, चटामरी, कचिला, मायामरी, खेचनामारी, समयावजी रहेका छन्। महोत्सवको उद्देश्य अनुरूप नेवारी परिकारबाहेक अन्य राई, दनुवार, सुनुवार, मगर समुदायका परिकारसमेत महोत्सवमा राखिएको आयोजक झीगु नेवाः पुचका सचिव गोपाल श्रेष्ठले बताउनुभयो।

महोत्सवमा प्रदेशस्तरीय लाखे नाच र नेवाः छमछमी सिजन ३ प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ। आज पुस ४ देखि १० गतेसम्म त्रियुगा नगरपालिका–११, गाईघाट बजारको मूल चोकदेखि उत्तर, पीपल चोकदेखि दक्षिणबीचको सडकमा फुड फेस्टिबल आयोजना गरिएको झीगु नेवाः पुच उदयपुरले जनाएको छ।