उच्चस्तरीय प्रविधिको कलम उद्योगबाट कलम उत्पादन सुरु
2022-12-21 14:56:49CRI
Share with:

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा उच्चस्तरीय प्रविधिको नयाँ कलम उत्पादन गर्ने उद्योग स्थापनासँगै उत्पादन सुरु गरेको छ। करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ सुखचैनामा स्थापना गरिएको वीणाशक्ति पेपर एण्ड स्टेशनर प्रोडक्ट उद्योग स्थापनासँगै उत्पादन पनि सुरु भएको हो ।

१६ वर्षदेखि स्टेशनरीको व्यापार गर्दै आएका व्यवसायी श्रवणकुमार मरोडियाले वीरगन्ज पथलैया करिडोरमा २५ करोड रुपैयाँको लागतमा कलम उद्योग स्थापना गरेको कारोबार अनलाइनले जनाएको छ। अढाई कट्ठा जग्गामा आफ्नो उद्योग सञ्चालन भएको र पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यसले कलम आयातमा केही मात्रामा प्रतिस्थापन गर्न सक्ने विश्वास लिएको मरोडियाले बताउनुभयो। तीन तले भवनमा जापानिज, जर्मन र भारतीय प्रविधिको संयोजनमा कलम उत्पादन हुनेछ।

नाम चलेका भारतीय ब्रान्ड सेलो, लिंकलेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीको प्रतिस्पर्धीको रुपमा नेपाली बजारमा आफूलाई अगाडि लैजाने योजनासहित उद्योगले उत्पादन पनि सुरु गरेको छ । उद्योगमा भारतीय कम्पनीका प्राविधिकसहितको टिमले नै मेसिनहरु चलाइरहेको मरोडियाको भनाइ छ। ‘फ्रेन्ज’ ब्रान्डमा उत्पादन हुने उद्योगले बलपेन, जेलपेन १६ प्रकारका कलम उत्पादन गर्ने छ । 

न्यूनतम ५ देखि ५० रुपैयाँसम्मका कलम उत्पादन गर्ने उद्योगमा निकट भविष्यमा थप १५ करोड लगानी गर्ने लक्ष्य रहेको उद्योगी मरोडियाले बताउनुभयो। उद्योगले ६ प्रकारको इरेजर, २ प्रकारको सार्पनर, २ प्रकारको स्केल र मार्करलगायतको स्टेशनरीको पनि उत्पादन गर्ने बताइएको छ ।

अध्ययन अनुसार नेपालमा वार्षिक ३० करोड थान कलमको खपत रहेको अध्ययनले देखाएको छ। जसमध्ये तीस प्रतिशत अवैधानिकरूपमा भारतबाट चोरबाटो हुँदै भित्रिने गरेको व्यवसायीहरू दावी गर्छन्। उच्चस्तरीय जापानिज प्रविधिको स्वचालित मेसिन जडान गरिएको कलम उद्योगले २४ घण्टामा चार लाखसम्म कलम उत्पादन गर्ने क्षमता रहेको र वार्षिक ९ करोड थान कलम उत्पादन गर्ने लक्ष्य रहेको उद्योगका सञ्चालक मनोजकुमार मरोडियाले जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त उद्योगले कलम उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्लाष्टिकको दाना चाँही अहिले भारतको रिलायन्स कम्पनीबाट आयात गर्ने गरेको छ । कलममा लाग्ने मसी र नजल भारत, जर्मनी, कोरिया, जापान लगायतका मुलुकबाट आयात गर्ने उद्योगी मरोडियाले बताउनुभयो। कलममा नेपाल आत्मनिर्भर नभएको र आयात गरी यहाँको मागलाई धान्नुपर्ने अवस्था रहेकोले नेपाली बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने योजनासहित उत्पादन सुरु गरिएको उद्योग सञ्चालकको भनाइ छ। नेपालमा पछिल्लो नयाँ उच्चस्तरीय प्रविधिको कलम उद्योग रहेको दावी उद्योगको छ ।