प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने
2022-12-21 15:02:15CRI
Share with:

धनकुटामा ६ माघदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको छ। आयोजक उद्योग वाणिज्य संघ धनकुटाले ‘कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागेको आयोजकले जानकारी दिए।

धनकुटासहित प्रदेशकै कृषि, रोजगार, व्यापार पर्यटकीय एवं आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गर्दै प्रचार प्रसारका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव गर्न लागिएको हो। साथै मेलाले एनटीआईएसमा समावेश भएका कृषिजन्य वस्तुको प्रचारप्रसार यस प्रदेशको एतिहासिक, सांस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको बजारीकरण र अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको उद्योग वाणिज्य संघ धनकुटाका महासचिव रामबहादुर गोङ्गवा तामाङ्गले बताउनुभयो। 

महोत्सवमा १ सय ५० वटा स्टल रहने र १ सय ३५ वटा स्टलमा प्रदेश नं १ का विभिन्न जिल्लामा उत्पादित वस्तुहरूको प्रदर्शनी र १५ वटा स्टलमा स्थानीय तथा जातीय खानाका परिकार रहने जनाइएको छ ।