अब सबै नेपाली श्रमिक सामाजिक सुरक्षाभित्र
2022-12-21 14:53:42CRI
Share with:

सरकारले चार वर्षअघि सबैलाई सामाजिक सुरक्षा योजनामा ल्याउने घोषणा गर्दै सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले बल्ल सबैलाई समेटेको छ। यो योजनामा यसअघि औपचारिक क्षेत्रका श्रमिकमात्र सूचीकृत हुँदै आएकामा अब अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सुरक्षाको दायरामा ल्याइएको हो।

सुरक्षा योजनामा सबैलाई समेट्न सामाजिक सुरक्षा कोषले दुई वटा कार्यविधि बनाएर त्यसलाई स्वीकृत गरिएको छ। अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ल्याइएको छ। यस्तै, वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ल्याइएको छ ।

गत मंसिर २५ मा यी दुई कार्यविधि स्वीकृत भएसँगै सुरक्षा योजनाले सबैलाई समेटेको हो। यी दुई कार्यविधिमध्ये अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामी वैशाख १ गतेबाट र वैदेशिक क्षेत्रको कार्यविधि स्वीकृत भएको मितिले ९० औं दिनबाट लागू हुनेछन्। कोषले राजधानीमा मंगलबार गरेको कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा योजना औपचारिक क्षेत्र हुँदै अनौपचारिक क्षेत्र, स्वरोजगार र वैदेशिक क्षेत्रमा समेत विस्तार भएको बताउनुभयो। योगदानमा आधारित यो सुरक्षा योजना सबैका लागि हुने आफूले विश्वास लिएको उहाँले बताउनुभयो। सुरक्षा कोषले असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मूल नाराका साथ ४ वर्षअघि स्थापित यो योजनामा सबै प्रकारका श्रमिक समेटिएको जनाएको छ ।

औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७४ कार्यान्वयनमा रहेका बेला आफ्नो कार्यक्षेत्र विस्तार गरी अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेकालाई समेत सामेल गराएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो।

कोषले बनाएको कार्यविधि बमोजिम अनौपचारिक क्षेत्रका श्रमिकहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम अर्थात् न्यूनतम १ हजार ९ सय १२ रुपैयाँ मासिक रुपमा कोषमा योगदान गरी कोषवाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुन सक्नेछन् । यसैगरी वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार मासिक रुपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्ने प्रावधान राखिएको छ ।

यसैगरी स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् न्यूनतम २ हजार ९ सय ९ रुपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ । 

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना दुर्घटना तथा अशक्तता सुरक्षा योजना आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ । यस्तै कार्यविधि लागू भइसकेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा कोषमा सूचीकरण नम्बर अनिवार्य रुपमा लिनुपर्ने बताइएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा आवद्ध व्यक्ति कोषको अनलाइन प्रणाली मार्फत सूचीकरण हुन सक्ने छन्। कोषका कार्यकारी निर्देशक ज्ञवालीले सूचीकरण कार्य एनआरएनए र वैदेशिक रोजगार व्यवसायीहरुका संघसंस्थासहितको बृहत् अभियान सञ्चालन गरिने बताउनुभयो। वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रुपमा योगदान गरे १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।