नेपालको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुँदै
2022-12-22 15:04:44CRI
Share with:

बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो। अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ।

६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ। यहाँ एउटा ठूलो प्रदर्शनी हल साथै दुइवटा बैठक हल,  प्रशासनिक भवन र खाजा घर, टीकट काउन्टर, फूलबारी बगैँचा लगायतको निर्माण कार्य तीब्र पारिएको छ । 

१२ हजार स्क्वायर मिटरमा निर्माण जारी ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल अटाउँछन्।

 यो प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले बिस २०७६ जेठ १३ गते सोमबार शिलान्यास गर्नुभएको थियो । २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको केन्द्रको कामअझै सकिएको छैन । अहिले दोस्रो पटक म्याद थपपछि निर्माण कार्य जारी छ । २०८० असार मसान्तभित्र काम सकेर हस्तान्तरण गरिने निर्माण आयोजनाको तयारी रहेको गोरखापत्र अनलाइनले जनाएको छ।