पर्यटन पूर्वाधारमा लगानी बढाउँदै
2022-12-22 15:02:51CRI
Share with:

बैंक तथा वित्तीय, रेमिट्यान्स, सूचना प्रविधि तथा जलविद्युत क्षेत्रमा स्थापित आईएमई समूहले पछिल्लो समय पर्यटन उद्योगमा लगानी बढाएको छ । चन्द्रागिरी हिल्स प्रालिबाट पर्यटन क्षेत्रमा प्रवेश गरेको आईएमई समूहले यसै वर्ष दुई वटा नयाँ होटल आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार लाजिम्पाटस्थित होटल ले हिमालय र कास्कीको पोखरामा द लेकसाइड रिट्रिट होटेल हालै स्वामित्वमा लिएर सञ्चालन गरेको हो ।

काठमाडौंमा रहेको होटल ले हिमालयमा कुल ५६ कोठा छन् । तीन तारे स्तरको अत्याधुनिक सुविधा सम्पन्न यो होटलमा सभाहल, रेष्टुरेन्ट तथा बारसहितका सुविधा रहेका छन् । काठमाडौंमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सुविधा प्रदान गर्न यो होटेलको स्वामित्वसहित सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यस होटलमा रुफटप रेष्टुरेन्ट थप गर्ने तयारी समेत रहेको छ । व्यावसायिक भेटघाट, बैठक, तालिम, सेमिनार तथा पार्टीका लागि समेत ग्राहकले यो होटेल छान्न सक्ने कम्पनीको भनाइ छ ।त्यसैगरी, पोखराको द लेकसाइड रिट्रिटमा चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा छन् । सेमिनार हल, स्वीमिङ पुल, बार, स्पासहितका सुविधा यो होटलमा रहेका छन् । यो होटल ९ रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा छट्याएको छ। पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार रहेको अनलाइनखबरले लेखेको छ।