चिनियाँ र अमेरिकी विदेशमन्त्री बीच टेलिफोन वार्ता
2022-12-23 15:32:00CRI
Share with:

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा डिसेम्बर २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोका सदस्य, स्टेट काउन्सिलर र परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

वार्तामा वाङले यसरी जोड दिनुभयोः गत महिना राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडन बीच बालीमा सफलतापूर्वक भेटवार्ता भएको थियो जसले बाह्य विश्वलाई सकारात्मक सन्देश दिएको छ। सो भेटवार्ता गम्भीर कठिन परिस्थितिबाट निकलेर द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर मार्गमा फर्काउने रणनीतिक मार्गदर्शन भएको पनि औँल्याउनुभयो।

चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा र विकासका हितहरूको दृढतापूर्वक रक्षा गर्दै जाने छ। अमेरिकाले चीनको उचित चासोमा ध्यान दिनुपर्छ र चीनको विकासलाई रोक्ने दबावलाई बन्द गर्नुपर्छ। विशेष गरी "ससेज काट्ने" तरिकामार्फत् बारम्बार चीनको रातो रेखा अगाडि निरन्तर चुनौती दिनु हुँदैन।

वाङ यीले अगाडि भन्नुभयोः नयाँ वर्षमा नयाँ दृश्य हुनुपर्छ र दुवै पक्षले दुई देशका राष्ट्रनायकले औँल्याउनुभएको निर्देशनको पालना गर्दै दुई ठूला राष्ट्रलाई एक अर्कासँग सही व्यवहार गर्ने बाटो खोज्नुपर्छ। जसबाट दुई देशका जनताको हित कल्याण एवम् विश्व शान्ति र स्थिरताकालागि प्रयास गर्नुपर्ने ठहर पनि वाङले गर्नुभयो।

सो अवसरमा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यसरी जनाउनुभयोः अमेरिकी पक्ष चीनसँग द्विपक्षीय सम्बन्धका मार्गदर्शन सिद्धान्तहरूबारे छलफल गर्ने इच्छा लिएको छ र अमेरिका–चीन सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्दै दुवै पक्षको साझा हित भएको क्षेत्रमा सहयोग गर्न अमेरिका इच्छुक रहेको छ। अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिँदै जाने छ र थाइवानको "स्वतन्त्रता" लाई समर्थन गर्दैन।

ब्लिन्केनले जैविक विविधता संरक्षण सम्बन्धि महत्वाकांक्षी "प्रारूप" पूरा गर्न चीनले गरेको प्रयासको प्रशंसा गर्दै अमेरिका र चीनले सो प्रारूपको कार्यान्वयनलाई सँगै बढाउने आशा पनि व्यक्त गर्नुभयो।

यसका अतिरिक्त, दुवै पक्षले युक्रेन समस्याबारे पनि विचार आदान प्रदान गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीन सधैँ शान्तिको पक्षमा, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र अन्तर्राष्ट्रिय समुदायसँगै शान्ति र वार्ताको पक्षमा उभिरहेको पनि वाङले बताउनुभयो। संकटलाई आफ्नै तरिकाले हटाउन रचनात्मक भूमिका निर्वाह गरिरहने पनि औँल्याउनुभयो।