रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास
2022-12-23 15:12:49CRI
Share with:

तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो।

तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारेको नगरप्रमुख खाँणले बताउनुभयो। यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उहाँले व्यक्त गर्नुभएको छ। तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उहाँले बताउनुभएको गोरखापत्रअनलाइनले लेखेको छ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताउनुभयो। एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँबाट डिपिआर तयार गरिएको उहाँले जानकारी दिनुभयो।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाे भएको बताउनुभयो। कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा सञ्चालन हुनेछ। स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उहाँले बताउनुभयो। प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उहाँले बताउनुभयो। चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उहाँले बताउनुभयो।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उहाँले बताउनुभयो। रेल सेवामा दैनिक ३० हजार, आठ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो। यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उहाँले दाबी गर्नुभयो।

परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउनेछन्। ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उहाँले बताउनुभयो। एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उहाँले बताउनुभयो। पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्वे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताउनुभएको छ।