दुई खर्बले घट्यो वैदेशिक व्यापार
2022-12-24 16:05:37cri
Share with:

चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ। भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ। 

विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ। जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो। 

आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ। विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ। गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपियाँको वस्तु आयात गरेको थियो। यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपियाँले घटेको गोरखापत्र अनलाइनले लेखेको छ। 

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले केही वस्तु आयातमा लगाएको प्रतिबन्ध, केन्द्रीय बैङ्कले तीन दर्जन वस्तुको आयातमा जारी गरेको शतप्रतिशत मार्जिनको व्यवस्थाले आयात प्रभावित बनेको हो तर व्यवसायी भने अत्यधिक मूल्य वृद्धि र तरलताको अभावमा बजारमा माग नै घटेका कारण आयात घटेको बताउँदै आएका छन्। 

कुल आयातित वस्तुमध्ये शीर्ष तीनमध्ये पेट्रोलियम पदार्थ नै रहेको छ। तथ्याङ्कअनुसार मङ्सिरसम्म सबैभन्दा धेरै ५५ अर्ब ४८ करोड रुपियाँको डिजेल आयात भएको छ। त्यसपछि २८ अर्ब ५९ करोड रुपियाँको पेट्रोल र २३ अर्ब ७५ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ। चौथो स्थानमा रहेको कच्चा भटमास तेल २० अर्ब ६८ करोड रुपियाँको आयात भएको छ। त्यसपछि १५ अर्ब ८७ करोड रुपियाँको कच्चा सुन आयात भएको छ। अघिल्ला वर्षमा प्रमुख आयात हुने वस्तुमा पर्ने मोबाइल तथा सवारीसाधन भने प्रतिबन्धका कारण यस वर्ष सूचीको धेरै पछाडि छन्। 

चालू आर्थिक वर्ष निर्यातका हिसाबले पनि खासै सुखद देखिएको छैन। गत आर्थिक वर्ष पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढीको निर्यात भएर अहिलेसम्मकै उच्च रेकर्ड बने पनि चालू आर्थिक वर्षमा भने निर्यात घटिरहेको छ। 

विभागका मङ्सिरसम्म ६७ अर्ब ३० करोड रुपियाँको मात्र वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको तुलनामा करिब ३५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको मङ्सिरसम्म नेपालले एक खर्बमाथिको वस्तु निर्यात गरिसकेको थियो। 

निर्यात घट्दा कुल अन्तर्राष्ट्रिय व्यापारमा यसको अनुपात घटेर करिब ९ प्रतिशतमा खुम्चिएको छ। जब कि गत आर्थिक वर्ष ११ प्रतिशतसम्म पुगेको थियो। समीक्षा अवधिसम्म सबैभन्दा धेरै नौ अर्ब ३६ अर्ब रुपियाँको पाम तेल निर्यात भएको छ। त्यसपछि सात अर्ब रुपियाँको भटमास तेल निर्यात भएको छ। मङ्सिरसम्म तीन अर्ब रुपियाँको गलैँचा निर्यात हुँदा दुई अर्ब ७२ करोड रुपियाँको अलैँची निर्यात भएको छ। त्यसपछि दुई अर्ब रुपियाँको कालो चिया निर्यात भएको छ। 

व्यापार साझेदारका रूपमा सदाझैँ भारत सबैभन्दा अगाडि छ। कुल अन्तर्राष्ट्रिय व्यापारमध्ये भारतसँग मात्रै नेपालले चार खर्ब ४७ अर्ब रुपियाँको व्यापार गरेको छ, जसमध्ये चार खर्ब रुपियाँको आयात भएका छ भने ४७ अर्ब ३७ करोड रुपियाँको निर्यात भएको छ। त्यसपछि चीनबाट ९४ अर्ब ५८ करोड रुपियाँको वस्तु आयात भएको छ भने २४ करोड रुपियाँको मात्र त्यतातर्फ निर्यात भएको छ। 

व्यापार साझेदारका हिसाबले इन्डोनेसिया तेस्रो स्थानमा पुगेको छ। इन्डोनेसियाबाट नेपालले करिब २१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने केवल छ करोड रुपियाँको निर्यात भएको तथ्याङ्कले देखाउँछ।