काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ आउँदै
2022-12-25 15:59:48cri
Share with:

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आउने भएको छ। चिनियाँ प्राविधिक टोलीले अध्ययनका लागि छिट्टै आउने सन्देश पठाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

चिनियाँ टोली आएपछि सम्भाव्यता अध्ययनका लागि नेपाल र चीन सरकारबीच सम्झौता हुनेछ। त्यसपछि काम अघि बढ्ने भौतिक मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवप्रसाद नेपालले जनाउनुभएको छ।

अहिले दुई देशका उच्च अधिकारी सम्पर्कमा रहेको प्रवक्ता नेपाल भन्नुहुन्छ। कुनै समस्या नआए चाँडै सम्झौता प्रक्रिया टुङ्गिने र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुङ्गिने बताउनुहुन्छ। तर रेलमार्ग कस्तो बन्ने भन्नेबारे कुनै मोडालिटी तयार नभएको कान्तिपुर अनलाइनले लेखेको छ।

०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यसमा दुई देशका उच्च अधिकारी सहमत थिए। उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो। ०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो।

उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए। चिनियाँ प्राविधिक टोली कोभिडको त्रासले आउन नसकेपछि थप प्रक्रिया अघि बढ्न सकेको थिएन। ‘काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनेको धेरै भयो,’ नेपालले भन्नुभयो, ‘अहिले चिनियाँ प्राविधिक टोलीहरू चासो दिएर सम्पर्कमा आएका छन्।’

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ। यसको अध्ययन चीन सरकारले नै गर्ने जनाइएको छ।

नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले गत बैशाखमा पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने बताउनुभएको थियो। उहाँले उक्त रेल सपनामा नभई विपनामै आउने पनि भन्नुभएको थियो। उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ।

यसैबीच, गत असोजमा रक्सौल–काठमाडौं रेलमार्गको ‘फाइनल सर्भे’ पनि सकिएको छ। ६ महिनाभित्र यसको प्रतिवेदन तयार पारिने रेल विभागले जनाएको छ। सर्भेअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने रेल विभागका महानिर्देशक रोहित महानिर्देशक बिसुरालले बताउनुभयो।

०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्रअनुसार अध्ययन अघि बढाइएको थियो। फिल्ड सर्भे सकिए पनि प्रतिवेदन आउन समय लाग्नेछ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सर्भेको काम भएको हो। ०७६ भदौमा रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। कोंकणले नेपाल सरकारसँगको समन्वयमा ८ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो। अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमि हुनेछ।