नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका नयाँ प्रधानमन्त्री
2022-12-26 16:06:47cri
Share with:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार साँझ उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको र आज सोमबार साँझ उहाँले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज सोमबार साँझ चार बजे हुने भएको छ।  प्रचण्डलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा. अधिकारीले दिनुभयो। 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो। दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो।

चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ। भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताउनुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमबार) बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो। श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।