चक्रपथ दोस्रो खण्ड विस्तारका लागि ‘साइट क्लियर’ गर्न चिनियाँ टोलीको आग्रह
2022-12-27 16:28:58cri
Share with:

‘साइट क्लियर’ नहुँदा काठमाडौँको चक्रपथको दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको उक्त खण्डमा सडकले चर्चेको क्षेत्र खाली (साइट क्लियर) गर्न ४ वर्षअघिबाटै काम सुरु भए पनि अझै नसकिएको कान्तिपुर अनलाइनले लेखेको छ ।

‘साइट क्लियर’ नभएकै कारण चिनियाँ प्राविधिक टोली आउन मानिरहेका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रबक्ता एवम् सहसचिव शिवप्रसाद नेपालले ‘साइट क्लियर’ हुनासाथ डिजाइनका लागि टोली आउन तयार रहेको बताउनुभयो। ‘चिनियाँ प्राविधिक टोलीले चाँडो साइट क्लियर गर्न भनिरहेका छन्,’ प्रवक्ता नेपालले भन्नुभयो, ‘साइट क्लियर भएपछि टोली डिजाइनका लागि आउने छ।’ उहाँले उक्त खण्डमा मन्दिरहरु भएकाले हटाउन समय लागेको बताउनुभयो। निर्माणस्थलमा पर्ने सम्पदा, रूख, घरटहरा भत्काउन नसक्दा काम अघि बढ्न सकेको छैन।

चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किलोमिटर सडक नै विस्तार गर्न आग्रह गरिरहेको छ । चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धारासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने बताइरहेको छ । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने उसको भनाइ छ ।

महाराजगन्ज खण्डमा पर्ने ४४ घरटहरा अझै हटाउन बाँकी छ । घरटहरा भत्काउन नसकिएको खण्डको विस्तार पछि नेपाल सरकार आफैं गर्न तयार रहेको सडक विभागले जनाएको छ। निर्माण थाल्ने भन्दै २०७८ मंसिरमा चिनियाँ प्राविधिक टोली निर्माणस्थल निरीक्षण गर्न नेपाल आएको थियो । चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएका ४ जनाको प्राविधिक टोली निरीक्षण गरेर फर्किएको थियो । त्यसयता स्थान खाली नहुँदा टोली आउन नसकेको जनाइएको छ। काठमाडौं चक्रपथ विस्तार योजना कार्यालयले निर्माणस्थल खाली गर्न पुस २ सम्मको समय दिएर सार्वजनिक सूचना जारी गरेको थियो। गत मंसिर १६ मा उक्त खण्डमा पर्ने मन्दिर, रूख, अस्थायी प्रहरी चौकी, घरटहरालगायत संरचना हटाउन भन्दै सूचना निकालिए पनि अझै खाली भइनसकेको कार्यालयकी योजना प्रमुख साजना अधिकारीले बताउनुभयो। उहाँका अनुसार यो समस्या ढुंगेधारा, वनस्थली खण्डमा छ। ‘१४ वटा मन्दिरमध्ये एउटा मात्र भत्काइएको छ, अन्य १३ भत्काउनै बाँकी छ,’ उहाँले भन्नुभयो, ‘क्षमा पूजा गरेर सार्नुपर्ने भएकाले स्थानीयले त्यही अनुसार समय माग गर्दा ढिलाइ भएको हो।’ पुसभित्र मन्दिर व्यवस्थापनको काम गर्न सकिए माघमा चिनियाँ टोली आएर काम गर्न सक्ने उहाँको भनाइ छ।

सरकारले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–नारायणगोपाल चोक खण्डको विस्तार गर्न भन्दै चालु आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । नाली, सर्भिस लेन निर्माणलगायतको काम गर्न यो बजेट व्यवस्थापन गरिएको सडक विभागको भनाइ छ। यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीनले नै ८ लेनमा विस्तार गरिदिएको थियो ।