पोखरा विमानस्थलमा आन्तरिक यात्रुलाई र्‍याम्प बस, अन्तर्राष्ट्रियलाई एरोब्रिज
2022-12-28 16:10:04cri
Share with:

काठमाडौंपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्‍याम्प बस चढ्नु पर्ने भएको छ। विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ। तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन्। जसका कारण पैदल हिंड्न लामो समय लाग्ने अनलाइन खबरले लेखेको छ।

सोहीकारण आन्तरिक उडान गर्ने कम्पनीहरुले यहाँ र्‍याम्प बस चलाउनु पर्ने भएको छ। यात्रुलाई आन्तरिक प्रस्थान कक्षबाट विमानस्थलसम्म लैजाँदा बीचमा अन्तर्राष्ट्रिय तर्फको क्षेत्र पर्छ। जसले गर्दा यात्रुलाई बसमा लैजानु पर्नेछ। अहिलेसम्म काठमाडौंको त्रिभुवन विमानस्थलमा मात्र र्‍याम्प बसको व्यवस्था रहेको छ।

भैरहवामा पुरानै टर्मिनल भवनबाट आन्तरिक उडान गरिएका कारण त्यहाँ यात्रुले प्रस्थान कक्षबाट सिधै जहाज चढ्न सक्छन्। अन्य आन्तरिक विमानस्थलमा समेत र्‍याम्प बस राख्नु परेको छैन।

नेपालका विमानस्थलहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन्। विमानस्थलको सबै प्रक्रिया पुरा गरी विमान चढ्न र जहाजबाट झरेर अध्यागमनमा आउन सक्ने गरी यहाँ एरोब्रिजको व्यवस्था गरिएको छ। एरोब्रिजको व्यवस्थासँगै जहाज चढाउन र झार्न भर्‍याङ लैजानु पर्ने अवस्था रहने छैन।

पोखरा विमानस्थल १ जनवरी २०२३ मा उद्घाटन हुँदैछ। त्यसपछि सबै आन्तरिक उडान यसै विमानस्थलबाट हुनेछन्। यस विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङ भने नेपाल एयरलाइन्सले नै गर्दैछ।

वायुसेवा कम्पनीहरुले १ जनवरी २०२३ देखि पोखराको नयाँ विमानस्थलबाट मात्र उडान हुने भन्दै यात्रुलाई सूचित गरेका छन्। बुद्ध एयर, यति एयर र श्री एयरलाइन्सले सूचना निकाल्दै यात्रुलाई सूचित गरेका हुन्। बुद्ध एयरले निर्धारित उडान समयभन्दा २ घण्टा अगाडि नै विमानस्थलमा आइपुग्न यात्रुलाई आग्रह गरेको छ।

नयाँ विमानस्थल भएका कारण सुरक्षाका सबै प्रक्रिया पार गर्दा समय लाग्ने र विमानस्थलमा अभ्यस्त नभएसम्मका लागि यस्तो आह्वान गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार यात्रुको लगेज संकलन गरी जहाजसम्म लैजान समेत केही समय बढी लाग्ने देखिएको छ। सोहीकारण यात्रुलाई २ घण्टा अगाडि नै विमानस्थल आउन भनिएको हो।

नयाँ विमानस्थल सञ्चालनमा आएसँगै जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ। अन्य सबै उडान नयाँ विमानस्थलमा सर्नेछन्। सोहीअनुसार तयारी गरिएको वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।