रेले खोला जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न
2022-12-29 15:52:04cri
Share with:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सम्पन्न भएको छ। एक वर्ष अघि निर्माण थालेको आयोजनाले अगामी असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य राखेको गोरखापत्र अनलाइनले लेखेको छ। 

हिम कन्सल्ट प्रा.लिले प्रवर्द्धक रहेको आयोजनामा बाँध स्थल,पाइपलाइन र विद्युतगृहको निर्माण एकसाथ अगाडि बढाइएको छ। आयोजना स्थलमा पर्याप्त मात्रामा उपकारणका साथै मजदुर र कर्मचारी गरी एक सय ६० जना जनशक्ति परिचालन गरिएको छ।  

अन्नपूर्ण हिमालबाट बगेर आउने रेल खोलालाई तिन हजार ६ सय मिटर लामो पेन स्टक पाइपबाट ल्याएर पाँच सय ५ मिटरको हेडबाट हरिस्वारामा रहेको विद्युत गृहमा पानी खसालेर  विद्युत् निकाल्ने योजना छ। सिभिलको ठेक्का पाएको साकुरा पावर कन्स्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्युत गृहको संरचना करिब ५० प्रतिशत निर्माण सम्पन्न गरेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो।  

उहाँका अनुसार कालो खोलामा रहेको बाँध स्थलमा हेडवक्र्स, इन्टेक,पानी थिङ्ग्राउने(डिसेन्डर) गरी ५०प्रतिशत निर्माण सम्पन्न भएको छ। आयोजनाले हरिस्वारामा विद्युतगृह निर्माण थालेको उहाँले बताउनुभयो। 

नारच्याङको बेसी देखि लेक गाउँ हुँदै आयोजना स्थलमा पहुँच मार्ग पुर्याउन आयोजनालाई करिब ४ वर्ष लागेको उहाँले बताउनुभयो। अत्यन्तै कठिन पहरा फुटालेर पहुँच मार्ग निर्माण गर्दा समय लागेको आयोजनाले जनाएको छ। 

आयोजना निर्माणका लागि करिब १८ किलोमिटर सडक निर्माण गरेका छौँ आयोजनाका इन्जिनियर भट्टराईले भन्नुभयो लामो पहुँच मार्ग बनाउनुपर्ने,चिसो मौसम र बर्खाका समय बाढी पहिरोका कारण सडक अवरुद्ध हुने जस्ता समस्याहरू हुँदा पनि आयोजना निर्माणलाई गति दिएका छौँ।’  आयोजना सम्पन्न गर्न प्रतिमेगावाट २० करोड रुपियाँ  लागत अनुमान गरिएको छ।

कूल लागतको ७० प्रतिशत लगानी बैङ्कले गरेका छन्। हिमालय बैङ्कको अगुवाइमा राष्ट्रिय वाणिज्य बैङ्कले  ऋण लगानी गर्ने भएको छ। हिमालयले कूल लागतको ५० प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले २० प्रतिशत लगानी गरेको कम्पनीले जनाएको छ। 

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् काली गण्डकी कोरिडोर प्रसारण लाइनका दाना सब स्टेसनमा जोडिनेछ। दाना सब स्टेसनसम्म कम्पनीले ४ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिने आयोजनाले जनाएको छ। 

नारच्याङमा मात्रै ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छन्। निलगिरी हाइड्रो पावरले निर्माण गर्ने एक सय १० मेगावाटका  निलगिरी पहिलो र निलगिरी क्यासकेड आयोजना निर्माणको अन्तिम चरण पुगेका छन्।