नेपालमा आधाले घट्यो इन्धन आयात
2022-12-30 15:59:52cri
Share with:

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा नेपालमा इन्धन आयात ११ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको गोरखापत्र अनलाइनले लेखेको छ।

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो। 

इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ। निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो। विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उहाँले बताउनुभयो। भारतमा भन्दा नेपालमा इन्धनको मूूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उहाँको भनाइ छ। 

तरलता अभाव, बैङ्कको चर्काे ब्याजदरले औद्योगिक उत्पादनमा कमी आउनु र विकास निर्माणको काम नहुँदा इन्धनको खपतमा कमी आएको निगमले जनाएको छ। 

निगमका अनुसार कुल खपतको २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनमा खपत हुने गर्छ। जलविद्युत् निर्माणमा बढी डिजेलको खपत हुने गरेकामा पछिल्लो समय निर्माण कार्य ठप्प अवस्थामा छ। 

विभागका अनुसार पाँच महिनाको अवधिमा २८ अर्ब ५९ करोड ६१ लाख रुपियाँ बराबरको दुई लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको छ। 

त्यस्तै ५५ अर्ब ४८ करोड ५९ लाख ७० हजार रुपियाँ बराबरको चार लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएको छ। यसबाहेक नौ अर्ब २० करोड ३४ लाख ३३ हजार रुपियाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन र ५८ करोड २९ लाख २५ हजार रुपियाँ बराबरको चार हजार ३४४ किलोलिटर मट्टीतेल आयात भएको विभागको तथ्याङ्क छ। 

पाँच महिनामा २३ अर्ब ७५ करोड आठ हजार ६३८ रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ। भारतको तुलनामा नेपालमा इन्धनको मूल्य महँगो भएकाले खपतमा उल्लेख्य कमी आएको निगमले जनाएको छ।

भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १५ रुपियाँ र डिजेल २५ रुपियाँ महँगो छ। यसअघि भारतमा भन्दा नेपालमा मूल्य सस्तो हुँदा तस्करी भएर भारतमा जाने गरेको थियो। 

चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात गरेर ३९ अर्ब १७ करोड ४८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। इन्धनमा विभिन्न शीर्षकमा राजस्व सङ्कलन हुने गर्छ। 

प्रतिलिटर पेट्रोलमा कुल राजस्व ६३ रुपियाँ ३६ पैसा, डिजेलमा ४७ रुपियाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपियाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपियाँ सङ्कलन हुने गर्छ। भन्सार बिन्दुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुने गर्छ। 

भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २० पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ। 

मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुने गर्छ। 

यस्तै पूर्वाधार करबापत प्रतिलिटर डिजेल/पेट्रोलमा १० रुपियाँ सङ्कलन हुने गर्छ। सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजल प्रतिलिटरमा दुई रुपियाँ सङ्कलन हुने गर्छ। वातावरण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ।