काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन नयाँवर्षदेखि सुरु हुने
2022-12-30 15:49:42cri
Share with:

काठमाडौंकेरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न नेपाल आइपुगेको चिनियाँ विज्ञ टोलीले नयाँ वर्षबाट काम थाल्ने भएको छ। रेल विभागसँग समन्वय गरी समयतालिकाअनुसार अध्ययन गर्ने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

मंगलबार चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटबाट ६ जना प्राविधिक टोली नेपाल आएका छन्। उक्त टोलीले रेलमार्गको लागतसँगै दूरी, सुरुङ, पुल, रेल स्टेसनलगायतको विषय टुंग्याउनेछ। नेपालबाट जोडिने सिगात्सेसम्म चीनले रेलमार्ग बनाइसकेको छ। सिगात्सेबाट केरुङसँगको अध्ययन समेत उसले यसअघि नै सकेको थियो। केरुङसिगात्सेको दूरी ५४० किलोमिटर छ। जहाँ रेलमार्ग निर्माणकै चरणमा छ। प्रस्तावित केरुङकाठमाडौँ रेलमार्गको दूरी ७२ किलोमिटर छ। रसुवागढीदेखि केरुङसम्मको दूरी करिब २५ किलोमिटर छ। रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले चिनियाँ विज्ञटोली आएसँगै काम सुरु भएको बताउनुभयो। 

विज्ञ टोली आएसँगै काम सुरु भएको भन्न सकिन्छ। फिल्डमै नयाँ वर्षबाट काममा टोली जान्छ’, महानिर्देशक विसुरालले भन्नुभयो, ‘विभाग सहयोगी मात्रै हो। अध्ययनको सम्पूर्ण काम चिनियाँ टोलीबाटै हुन्छ।

२०७५ मंसिरमै रेलमार्गको सम्भाव्यता अध्ययन भएको थियो। सोअनुसार रेलमार्ग निर्माणको लागि २ खर्ब ७१ अर्ब लाग्ने अनुमान गरिएको छ। विस्तृत अध्ययनपछि लागत र डिजाइन तय हुनेछ। पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न मंगलबार चीनबाट विज्ञ टोली नेपाल आएको हो। 

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिनुभयो। चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताउनुभयो। 

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा व्यापार तथा पारवहन सन्धिसम्बन्धी समझदारीसँगै केरुङकाठमाडौं रेलमार्ग निर्माणको विषय अगाडि बढेको थियो। त्यसपछि २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएको समयमा विस्तृत अध्ययन अगाडि बढाउने विषयमा सहमति भएको थियो। 

गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा चीनले रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता दिने सम्झौतामा हस्ताक्षर भएको थियो। जसअनुसार चिनियाँ विज्ञ टोली नेपाल आएको हो।  

रेल विभागले चिनियाँ विज्ञले नै सम्पूर्ण अध्ययन तथा खर्च गर्ने भएकोले कुनै समस्या नहुने बताएको छ।  ‘विस्तृत अध्ययनको लागि नै साढे ३ वर्षको समय छ’, महानिर्देशक विसुरालले भन्नुभयो, ‘लागत कति? कस्तो रेल? कति समयको रेलमार्ग भन्ने अध्ययनबाटै थाहा हुन्छ।

चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिमलगायतको विषयमा अध्ययन गर्नेछ। रेलमार्ग निर्माण गर्दा ९८ प्रतिशत भूभाग पहाड र चट्टान रहने उल्लेख छ। रेलमार्गको लागि सुरुङ मार्ग र अग्ला पुल निर्माण गर्नुपर्छ। 

अध्ययन गर्दा कुनै ठाउँ अत्यन्त जोखिम रहेको देखिए सर्वेक्षणमा रेखांकन फरक हुन्छ’, उहाँले भन्नुभयो, ‘अध्ययनसँगै निर्माणका लागि करिब १० वर्ष लाग्ने अनुमान छ।

रेल विभागले पछिल्लो समय नयाँ प्रविधिको विकास हुँदै गएकाले योजनाअनुसार लगातार काम भए १० वर्षअगावै पनि भौतिक निर्माण गर्न सकिन्छ। तर अहिलेकै अवस्थाअनुसार अगाडि बढ्दा १० वर्षमा निर्माण सम्पन्न हुँदैन। 

चीनको बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङकाठमाडौ रेलमार्ग पनि एक हो। नेपालका तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा चिनियाँ विदेशमन्त्रीले चिनियाँ विज्ञ टोली पठाउने बताउनु भएको थियो। चीनले सम्भाव्यता अध्ययनको लागि अनुदान दिने घोषणा गरेको छ। चीनले विस्तृत अध्ययन आफ्नै खर्चमा गर्ने बताए पनि निर्माण कसरी हुने स्पष्ट हुनसकेको छैन। प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले चीनसँग ऋण लिएर रेलमार्ग बनाउन नसक्ने स्पष्ट पारेको थियो।