हुम्लाको उत्तरी हिल्सा नाका खुल्यो
2022-12-31 18:35:02cri
Share with:

नेपाल–चीनको उत्तरी व्यापारिक सीमा क्षेत्र हुम्लाको ‘हिल्सा नाका’ खुलेको छ। कोरोना महामारीका कारण बन्द रहेको हुम्लाको ‘हिल्सा नाका’ तीन वर्षपछि गत सोमबारबाट एकतर्फी खुलेको कारोबार अनलाइनले लेखेको छ। छिमेकी राष्ट्र चीनले सोमबारदेखि एकतर्फी नाका खोलेपछि आठवटा ट्रकमा सामान आयात गरिएको यारी भन्सारले जानकारी दिएको छ। 

यारी भन्सार कार्यालयका प्रमुख रामराज जैशीका अनुसार चीनबाट दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थसँगै विकास निर्माणका सामग्री आयात हुनेछ। सुर्खेत–नेपालगन्ज–सुर्खेत हवाईमार्गबाट दैनिक उपभोग्य सामान ढुवानी गर्नुभन्दा हुम्ली नागरिकलाई चीनबाट सामान ल्याउन सस्तो पर्दछ। हिल्सा नाका खुलेसँगै हुम्ली नागरिक उत्साहित छन्। यद्यपि वर्षात्का कारण भत्किएका सडक मर्मत नहुँदा नाकामा आएका सामग्री हुम्ला सदरमुकाम सिमकोट पुग्न अझै केही समय लाग्ने प्रमुख जैशीले बताउनुभयो।

नेपाल–चीन उत्तरी नाका हिल्साबाट चीनले सामान निर्यात गर्न थालेको करिब पाँच वर्ष पुग्न थालेको छ। विगत तीन वर्षदेखि हिल्सा नाका ठप्प हुँदा यारी भन्सार कार्यालय हुम्लाको राजस्व शून्य छ। कोरोना महामारीदेखि नै चीन–नेपाल दुवैतर्फबाट सामान आयात–निर्यात ठप्प भएपछि राजस्व शून्य भएको हो। सोमबार चीनले एकतर्फी हिल्सा नाका खोलेसँगै भन्सारका कर्मचारी चीन–नेपाल सिमाना हिल्ला नाकातर्फ राजस्व संकलनका लागि जुटेका छन्।

हिल्सा नाकाबाट एकतर्फी आयात सुरु भएपछि जीर्ण ग्रामीण सडकको स्तरवृद्धिलाई जोड दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो। नाका बन्द हुँदा हिल्सा नाका क्षेत्रका बजार सुनसान थिए। उहाँले भन्नुभयो, “नाका खोलेसँगै फेरि चहलपहल बढेको छ। हुम्ला र चीनको व्यापारिक सम्बन्धलाई थप सुमधुर बनाउन आवश्यक छ।”

विगत तीन वर्षदेखि नाका बन्द हुँदा सयौं विपन्न नागरिकको रोजीरोटीसमेत गुमेको थियो। हुम्लाको नाम्खा गाउँपालिकाका प्रायः युवा वर्षेनी मजदुरीका लागि ताक्लाकोट हिल्सा नाका क्षेत्रमा जाने गर्छन्। नाका बन्द भएसँगै अधिकांश युवा बेरोजगार भएर बस्न बाध्य भए पनि अब भने पुनः काम पाउने र दैनिकी गुजार्न सहज हुने अपेक्षा गरिएको छ।

सरकारले केही महिनाअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हुम्लाको हिल्सा नाका प्राथमिकतामा परेको थिएन। उक्त नाका खोल्न विभिन्न निकायमा आग्रह गर्दासमेत सुनुवाइ नभएको तर सोमबारदेखि नाका खुल्दा खुसी लागेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताउनुभयो।