बेइजिङमा अरनिकोका सन्तान खोज्दा…
2022-01-13 10:51:45CRI
Share with:

बेइजिङमा अरनिकोका सन्तान खोज्दा…_fororder_White Pagoda compound

चीन बसाइले ८ वर्ष काटेको छ। वार्षिक विदामा नेपाल गएको बेला शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई नभेटी फर्केको रेकर्ड छैन। कोरोना महामारीले नेपाल जान नपाएको अढाइ वर्ष हुन लाग्यो। यस बीचमा घरपरिवारलाई भेट्न नपाएको भन्दा पनि जोशीज्यूलाई भेट गर्न नपाएकोमा न्यास्रो लागेको छ।

परिवारलाईभन्दा जोशीज्यूलाई 'मिस' गरेको विशेष कारण छ। जोशीज्यूले सन् १९८० देखि १९८२ सम्म बेइजिङ बस्दा अरनिको सम्बन्धी गहन अध्ययन गर्नु भएको थियो। मलाई पनि अरनिको बारेमा जान्ने धेरै चाह छ। जोशीज्यूलाई भेटेर अरनिकोका बारेमा उहाँले थाहा पाउनु भएका विषयमा कुरा गर्दा घण्टौँ बितेको पत्तै हुँदैन।

जोशीज्यूले लेख्नु भएको 'कलाकार अरनिको' किताब मैले धेरैपटक दोहोर्‍याएर पढेका कृतिमा पर्दछ। अनि अरनिकोका बारेमा अहिलेसम्मको सबैभन्दा राम्रो जानकारी समेटिएको एक मात्र पुस्तक पनि यो मात्र हो।

बेइजिङमा अरनिकोका सन्तान खोज्दा…_fororder_White Pagoda

तीन वर्ष अगाडि जोशीज्यूसँग भेट गर्दा उहाँले भन्नुभएको थियो 'मैले बेइजिङमा अरनिकोका कुनै पुस्ता भेटिन्छन् कि भनेर खोजी गरेँ तर संभव भएन।'

उहाँले आफ्नो मनको कुरा भन्नु भएको थियो तर त्यो भनाइले मलाई भित्रैदेखि कुत्कुत्यायो। साँच्चै अरनिकोका छोराछोरी, नातिनातिनी, पनातिपनातिनी हुँदै कुनै न कुनै पुस्ता त चीनमा अवस्य होलान्। खोजी गर्दा कतै कुनै पुस्ता भेटिन्छ कि भन्ने मनमा गहन अभिलाषा जाग्यो।

दुःखको कुरा चीनमा त के नेपालमै अरिनिकोका बारेमा कुनै पनि जानकारी पाइँदोरहेनछ। अरनिको कहाँका थिए भन्ने कुराको कुनै पनि दसी प्रमाण नेपाली इतिहासमा अहिलेसम्म कतै उल्लेख छैन। कतै पाटनका बासिन्दा रहेको जनाइएको छ भने कतै पाल्पातिरका हुन सक्ने बताइएको छ।

नेपाली राजाले ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत पठाएका थिए भनिन्छ तर उनी कहाँका थिए र उनका आफन्त को हुन् कतै केही मेसो पाइन्न। अरनिकोको नयाँ पुस्ता नेपालमा नभएकाले पनि हुन सक्छ। उनका ११ वटी श्रीमतीबाट जन्मिएका १२ जना छोराछोरी सबै चीनमा बसेका थिए।

जोशीज्यूको सोही कृतिमा उल्लेख भए अनुसार अरनिकोले चीन आउनुभन्दा अगाडि नेपालमा बिहे गरेका थिए। नेपाली श्रीमतीबाट एक छोरा र एक छोरी थिए। बिडम्बना नेपाली श्रीमती र छोराछोरी पनि अरनिकोले आफू चीनमा आएको १६ वर्षपछि चीनमै बोलाएकाले नेपालमा उनको नयाँ पुस्ताको चिनोबानो नै हराएको हुनसक्छ।

बेइजिङमा अरनिकोका सन्तान खोज्दा…_fororder_Araniko Salik.JPG

चीनमा आएपछि अरनिकोले १० वटी श्रीमती भित्र्याए। चीनमा बिहे गरेका श्रीमतीहरुमध्ये दुईजनाबाट कुनै सन्तान भएनन् भने एकजनाबाट दुई छोरा र एक छोरी भए। त्यस्तै एकजनाबाट दुई छोरी भए भने चारजना श्रीमतीबाट एकएक छोरी जन्मिएका थिए। एकजना श्रीमतीबाट एउटा छोरा जन्मिएका थिए। नेपाली श्रीमतीबाट जन्मिएका छोराबाट दुई नाति र एक नातिनी जन्मिएको कुरा जोशीज्यूले सोही कृतिमा लेख्नु भएको छ।

अरनिकोकी एकजना छोरी भिक्षुणी भएकी थिइन्। भिक्षुणी भएकी छोरीले बिहे गर्ने कुरै भएन। बाँकी ११ जना छोराछोरीबाट नातिनातिनीहरु पक्कैपनि कोही न कोही हुनुपर्ने हो भन्ने कुराले मनलाई सधैँ हुँडुलिरहने भएकाले बेइजिङमा अरनिकोले बनाएको श्वेत चैत्यमा गएको बेला कतै केही पत्ता लाग्छ कि भनेर सधैँ सोधखोज गरिरहन्छु। अहिलेसम्म केही पनि हात लागेको छैन।

मेरो दोस्रो कथा सङ्ग्रह 'बुद्धको उपहार' सन् २०१४ मा प्रकाशन भएको थियो। चीनमा बसेर लेखेको हुनाले कथामा केही चिनियाँ पात्र पनि रहेका छन्। कथा सङ्ग्रहको पाण्डुलिपि पढेर साहित्यकार तथा पूर्वमन्त्री प्रदिप नेपालले भूमिमा 'अरनिकोका सन्तानले चीनमा लिउ थर लेख्छन् रे। कथामा पनि लिउ थरकै चिनियाँ पात्र रहेकाले उनी कतै अरनिकोकी सन्तान त होइनन्' भनेर लेखिदिनुभयो।

परराष्ट्र मन्त्रालयका सहसचिव सुशीलकुमार लम्साल मिनिस्टर पदमा गत असारसम्म बेइजिङस्थित नेपाली दूताबासमा कार्यरत हुनुहुन्थ्यो। गत मे १९ तारिख चिनियाँ बुद्ध जयन्तीका अवसरमा उहाँसँग चिनियाँ बुद्धधर्म संघले आयोजना गरेको एक समारोहमा सहभागी भएको थिएँ। नेपाली बुद्ध जयन्ती त मे २६ तारिख थियो तर चिनियाँहरुले ठीक एक हप्ता अगाडि बुद्ध जयन्ती मनाउने गर्छन्। बुद्ध जयन्ती समारोहको आयोजना स्थल अरनिकोले निर्माण गरेको श्वेत चैत्य नजिकै थियो। समारोह सकिएपछि हामी श्वेत चैत्य घुम्न गयौँ।

त्यहाँ पुगेपछि सुशीलकुमार लम्सालले एउटा प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो - म फुर्सदको समयमा यहाँ आउने गर्छु। अघिल्लपटक यहाँ आउँदा एकजना पौढ चिनियाँलाई यो कसले बनाएको भनेर सोधेको थिएँ। उनले नेपाली कलाकार अरनिकोले बनाएको भनेर जवाफ दिए। उनको घर यहाँ नजिकै रहेछ। उनले आफू लिउ थर भएको बताए। सायद अरनिकोकै पो सन्तान हुन् कि!

कथामा लिउ नामकी पात्र उल्लेख हुनु, साहित्यकार प्रदिप नेपालले भूमिकामा उनी अरनिकोकै कुनै पुस्ताका सन्तान हुन् कि भनेर अनुमान गर्नु र सुशीलकुमार लम्सालले श्वेत चैत्य नजिकै भेटेका व्यक्ति पनि लिउ थरकै हुनुलाई संयोग मात्र मान्न सकिन्छ।

लिउ थरका मानिसहरु अरनिकोबाट सुरु भएका भनेर मान्न त सकिन्न तर अरनिकोका सन्तानले पनि लिउ थर नै लेख्ने गरेका हुन सक्छन्। त्यो पनि कतैबाट पुष्टि हुँदैन। किनभने लिउ थरका मान्छे जतासुकै भेटिन्छन्।

आफ्नै कार्यालयमा काम गरेर सेवा निर्वृत्त हुनु भएका लिउ होङ स्याङ दाइ हुनुहुन्थ्यो। एक भेटमा मैले सोधेँ - तपाईं अरनिकोको सन्तान हो र?

उहाँ मज्जाले हाँस्नुभयो। आफू अरनिकोको सन्तान भए त गौरव मान्ने पनि बताउनुभयो। उहाँ नेपाललाई माया गर्ने र वर्षौँसम्म नेपालमा काम गर्नु भएका चिनियाँ हुनुहुन्छ। त्यसो त मैले काम गर्ने कार्यालयमा तीनजना चिनियाँ सहकर्मी लिउ थरका छन्।

हान जातिका मानिसहरु ९१ प्रतिशत छन् चीनमा। त्यसमा पनि वाङ, ली, चाङ, लिउ र छन सबैभन्दा धेरै पाइन्छन्। सन् २०१३ को जनगणना अनुसार चीनमा लिउ थर भएका मान्छेको सङ्ख्या ६ करोड ७७ लाखभन्दा बढी छ। लिउ थरका मानिस चीनमा चौथो धेरै सङ्ख्यामा रहेका छन्। सात सय वर्षमै अरनिकोका सन्तान ६ करोडभन्दा बढी हुन सम्भव छैन।

बेइजिङमा अरनिकोका सन्तान खोज्दा…_fororder_Model of White Pagoda

त्यसो भए अरनिकोका कुनै सन्तान छैनन् त?

हो, यही प्रश्नले दिमागभरि घर गरेको छ। बेइजिङ बसेको ८ वर्ष नाघिसक्यो। कहीँ कतै अरनिकोका बारेमा पत्ता लाग्छ कि भनेर खोजी गर्ने काम जारी छ। गुगलले पनि केही बताउँदैन। गुगलको भर नपरेर चिनियाँ इन्टरनेट सर्च इन्जिन 'पाइतू'बाट पनि खोजिरहेको छु। त्यसमा पनि अल्प अल्प कुरा मात्र भेटिन्छ।

गुगल र पाइतूबाट पार नपाएपछि श्वेत चैत्यभित्र रहेको प्रशासनिक कार्यालयको शरणमा पुगियो। श्वेतचैत्य पुग्दैपिच्छे कार्यालयमा छिरेर आफ्नो जिज्ञासा राख्छु तर कुनै जवाफ पाउँदिन। आफूलाई चिनियाँ भाषा नआउने अनि त्यहाँका चिनियाँ अंग्रेजी भाषामा सधैँ अल्मलिने हुनाले गत अगष्ट २७ तारिख सहकर्मी लक्ष्मी लम्साललाई लिएर श्वेत चैत्यमा पुगेँ। सहकर्मी लम्साल चिनियाँ भाषा बोल्न जान्ने हुनाले श्वेतचैत्य भित्रको प्रशासनिक कार्यालयमा गएर केहीबेर सवालजवाफ गरियो।

अरनिकोका पुस्तैनी सन्तान चीनको कहाँ भेटिन्छन्?

पहिलो पश्नमै त्यहाँका कर्मचारी रातोपिरो भइहाले। जागिर खान बसेका अधवैँसे चिनियाँलाई त्यस्तो प्रश्न कसैले गर्छ भन्ने के थाहा!

तपाईंहरुको सम्पर्कमा अरनिकोको खोज अनुसन्धान गर्ने कुनै विज्ञ व्यक्ति छ?

दोस्रो प्रश्नमा पनि उनीहरुले सकारात्मक जवाफ फर्काउन सकेनन्।

चीनका कुनै विश्वविद्यालयमा अरनिकोको कला अथवा जीवनीमा कुनै व्यक्तिले कुनै थेसिस गरेको छ कि?

तेस्रो प्रश्नमा पनि उनीहरु ट्वाँ परे।

अन्तिममा उनीहरुलाई अलिक सहज लाग्ने प्रश्न सोधियो - अरनिकोका बारेमा केही जानकारी भएको कुनै पौढ व्यक्ति भएमा हामीलाई सम्पर्क गराइ दिनसक्नुहुन्छ?

उनीहरुले हाम्रो सम्पर्क नम्बर लिए तर अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। आशा छ कुनै बेला उनीहरुले कुनै पौढ चिनियाँ प्रोफेसर अथवा कुनै विज्ञ व्यक्तिसँग सम्पर्क गराउनेछन्।

उक्त प्रशासनिक कार्यालयबाट निस्कने बेलामा मैले अर्को जिज्ञासा राखेँ। अरुमा जवाफ नपाए पनि यसमा उनीहरुले पक्कै केही बताउने आशा पालेको थिएँ। प्रश्न सोधेपछि त्यहाँका चिनियाँहरु आपसमा केही कुरा गरे। सहकर्मी लम्सालजीलाई पनि प्रश्न बुझाउन निकै कठिन भयो।

मैले प्रश्न सोधेको थिएँ - बेइजिङमा अरनिकोको समाधिस्थल कहाँ छ?

उनीहरुले केही थाहा नभएको बताए।

मैले अरनिकोको समाधिस्थल सोध्नुको खास कारण चाहिँ जोशीज्यूले आफ्नो पुस्तकमा अरनिकोका श्रीमती तथा छोराछोरीको विवरण उल्लेख गर्दा 'अरनिकोको समाधिस्थलको कीर्तिस्तम्भको अभिलेखका आधारमा' उल्लेख गर्नु भएको छ।

यस विषयमा मैले जोशीज्यूसँग कुरा गरेको थिएँ। उहाँ पनि अरनिकोको समाधिस्थल पुग्नु भएको रहेनछ। यस बारेमा कुनै चिनियाँले खोजेर ल्याइदिएको तर कहाँ पर्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताउनु भएको थियो। अरनिकोकै सङ्ग्रहालयको कार्यालयलाई त यति कुरा थाहा होला भन्ने थियो तर अन्तिम आशा पनि निरासामा बदलियो।

अझै पनि विभिन्न चिनियाँ पुस्तकालयमा गएर खोज्ने काम गरिरहेको छु। हेरौँ अरनिकोका कुनै सन्तान चीनमा भेटिन्छन् कि?

साभारः नेपाल भ्युज अनलाइन।