भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प
2023-01-01 16:29:33cri
Share with:

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल भैरहवाबाट आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलमा सुरुदेखि कुवेतको जजिरा एयरवेज र गत कात्तिक १७ गतेदेखि चार्टर उडान सुरु गरेको हिमालयले हाल उडान रोकेका गोरखापत्र अनलाइनले लेखेको छ। यात्रु अभाव, श्रम अनुमति र मौसम खराबीका कारण देखाउँदै दुवै हवाई कम्पनीले पुस लागेसँगै उडान रोकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले कुवेतमा गर्दै आएको साताको तीन उडान र मलेसिया चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेका छन्। आउँदो माघदेखि पुनः उडान सुरु गर्ने आशा गरेका छौँ।

यात्रु अभावका साथै पछिल्लो समय भैरहवामा बाक्लो हुस्सु र तुवाँलो लाग्न थालेपछि प्रतिकूल मौसमका कारण भारतको लखनउतर्फ उडान डाइभर्ट हुन थालेपछि जजिराले उडान रोकेको उहाँले बताउनुभयो। भैरहवाबाट उडान गर्न काठमाडौँबाट हवाई सेवाकै खर्चमा भैरहवासम्म यात्रुहरू लगेर उडान गर्नुपर्ने बाध्यता रहेको र श्रमलगायतका समस्या समाधान नभएपछि हिमालयले भैरहवाको उडान तालिका रद्द गरेर काठमाडौँबाट उडान सुरु गरेको छ। उहाँले भन्नुभयो, “उडानका लागि काठमाडौँबाट भैरहवा यात्रु ओसार्दा नारायणगढमुग्लिन सडकखण्ड र नारायणगढबुटवल सडक निर्माणको कामले समेत असर गरेपछि यात्रुलाई थप सास्ती हुन थालेको थियो।

भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ)सहितको सुविधा माग गर्दै भैरहवाबाट उडान थालेको हिमालयले भैरहवामा आफ्नो जहाजको आफैँ भूमिस्थ प्रबन्ध गर्नसमेत नपाएपछि उडान रोकेको हिमालय एयरलाइन्स स्रोतले जनाएको छ। स्रोतका अनुसार भैरहवामा कार्यालयसमेत खोलेर सेवा सुरु गरे पनि प्राधिकरणले गौतम बुद्ध विमानस्थलबाट अनिवार्य उडानको नीति खुकुलो गरेपछि हिमालयले यात्रु अभाव देखाउँदै उडान रोकेको हो।

प्राधिकरणले भैरहवामा अनिवार्य उडान गर्न निर्देशन दिएपछि भैरहवानयाँदिल्ली उडान तयारी गरेको नेपाल वायुसेवा निगमले भारतको अनुमति नपाएपछि उडानबारे कुनै निर्णय गरेको छैन। प्राधिकरणले भैरहवा विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिँदै आएको छ। हाल भैरहवामा उडान गर्ने हवाई कम्पनीले आउँदो जेठ २ गतेसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत र भूमिस्थ प्रबन्ध सेवामा ५० प्रतिशत छुट पाउँदै आएका छन्।

विमानस्थल सञ्चालनमा आएसँगै उडानका लागि गल्फ एयर, थाई एयर, गो एयर, विज एयर, श्रीलङ्कन एयरलाइन्स, कतार एयरवेज, एयर अरेबिया, थाई स्माइल, सलाम एयरलगायतले चासो देखाए पनि अनुमतिको प्रक्रियामा भने आएनन्। हाल यो विमानस्थलबाट आन्तरिकतर्फका दैनिक १८ देखि २५ वटासम्म उडान हुँदै आएका छन्।