सन् २०२२ मा छ लाख पर्यटक नेपाल भित्रिए
2023-01-02 16:03:07CRI
Share with:

कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन्। कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो। महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन्। सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन्। यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। 

बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले महामारीपछि तुलनात्मक रूपमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले पर्यटन क्षेत्र थप चलायमान बन्दै गएको बताउनुभयो। नेपालमा पर्यटनको दोस्रो ठूलो बजार मानिएको चीनबाट पर्यटक आउन नसक्दा एक लाख १५ हजारको हाराहारीमा चिनियाँ पर्यटक घटे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत सुधार भएको छ,” उहाँले भन्नुभयो।

पछिल्लो समय भारतीय पर्यटकको आगमन थप सुधार देखिएको छ। कोरोनाका कारण लामो समय घरभित्रै सीमित रहेकाहरू बिस्तारै भ्रमणमा निस्कन लागेकाले पर्यटन आगमनमा थप सुधार हुँदै जाने रेग्मीको विश्वास छ। भारतसँगका २१ वटै नाकामा सडक मार्गबाट आउने पर्यटक धेरै रहेको र तथ्याङ्कमा नआएपछि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्यासमेत गणनामा ल्याउन गृह मन्त्रालयसँग तथ्याङ्क राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। 

भारतीय पर्यटक बढाउन भारतका सबै राज्यका ट्राभल एसोसिएसन अफ इन्डियाका ७० जना एजेन्टलाई यही जनवरी २८ देखि नेपाल भ्रमणमा बोलाउने र काठमाडौँ, पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराउने बोर्डको तयारी छ। युरोप र अन्य एसियाली मुलुकभन्दा सार्क राष्ट्रका अधिक पर्यटक भित्र्याउने तयारीअनुसार उक्त देशहरूमा नेपाल प्रवद्र्धनको अभियान अगाडि बढाउने तयारी पनि बोर्डको छ। 

आरोहण, ट्रेकिङ र विभिन्न सभा सम्मेलनमा सहभागी हुन आउने विदेशी नागरिकको सङ्ख्या बढ्दै गए पनि वास्तविक पर्यटकका रूपमा नेपाल घुम्न आउने खर्चालु पर्यटकलाई समेत नेपालतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने बोर्डको योजनामा छ। 

बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५ जना विदेशी नेपाल भित्रिएका थिए। त्यस्तै फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६३५ जना र डिसेम्बरमा ६७ हजार ९२३ पर्यटक नेपाल भित्रिएका थिए।