चितवनका होटल भरिभराउ
2023-01-03 16:52:40cri
Share with:

लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अङ्गे्रजी नयाँ वर्षले जुर्मुराएको छ। पर्यटकको पर्खाइमा रहेका यहाँका होटल शुक्रबारदेखि भरिएका थिए। नयाँ वर्षको अघिल्लो दिन शनिबार पर्यटकीय क्षेत्र सौराहाका होटल आन्तरिक पर्यटकले भरिएका छन्। अन्य दिनको तुलनामा शनिबार यहाँका होटल भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो। कोरोना, आर्थिक मन्दीका कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको उहाँले बताउनुभयो। शनिबार मात्रै ७० प्रतिशतभन्दा धेरै होटल भरिएको सङ्घले जनाएको छ। नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नयाँ वर्षको दिन परिवारसहित सौराहा घुम्न आएको नारायणगढका स्थानीय खोमकान्त रेग्मीले बताउनुभयो। अन्य दिन कामले व्यस्त भए पनि एक दिन परिवारसँग रमाउने उद्देश्यसहित सौराहा आएको उहाँले जानकारी दिनुभयो। 

चितवन आएका पर्यटकको रोजाइ सौराहा भए पनि जिल्लाका पटिहानी, मेघौलीलगायतका क्षेत्रका होटल पनि भरिएको पर्यटन व्यवसायीले बताएका छन्। पटिहानीस्थित सोल्टी होटलका निर्देशक ऋषि न्यौपानेका अनुसार पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारले एक हप्ताका लागि होटल बुक गर्नु भएकाले अन्यलाई राख्न पाइएको छैन। पटिहानी र मेघौलीका दर्जनभन्दा धेरै होटल नयाँ वर्षमा भरिएको पश्चिम चितवनका पर्यटन व्यवसायीका अध्यक्ष सुबोध प्रधानले बताउनुभयो। पटिहानीदेखि मेघौलीसम्मका  होटल सबै भरिएका थिए। 

सौराहाका होटल व्यवसायी महेश खनालले एक हप्तादेखि आफ्नो होटल पार्क सफारी पर्यटकले भरिएको जानकारी दिनुभयो। सौराहामा आउने पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन्।