चिनियाँका बाह्र सत्ताईस् कुरा
2023-01-04 17:38:31cri
Share with:

----------चेतनाथ आचार्य

 'धेर बाह्र सत्ताईस् कुरा नगर न।'

   हामीमध्ये धेरैले सुनेको नेपाली भनाइ हो यो। खासमा यसको गहन अर्थ छ। ज्योतिषशास्त्रमा बाह्र सत्ताईस्‌का कुरा धेरै आउने गर्छन्। ज्योतिषीलाई गाउँले भाषामा जैशी पनि भनिन्छ। अनि भनाइ छ जैशीले जस्तो कसैले पनि जान्दैन। बिभिन्न कुरा जोडेर मान्छेलाई मन्त्रमुग्ध बनाउने भएकाले ज्योतिषीका कुरा सबैले पत्याउँछन् अथवा कुराले लठ्याएर पत्याउने बनाउँछन् ज्योतिषीहरु।

   त्यसो भए के हो त बाह्र सत्ताईस् भनेको?

   ज्योतिषीले १२ महिना र २७ नक्षत्रबाट पात्रो हेर्ने गर्छन्। उनीहरु कहिले राहू कता पर्‍यो भन्छन् त कहिले सेतू काँधमा चढ्यो भन्छन्। कहिले सूर्य दाहिना त कहिले चन्द्रमा दाहिना। हामी उनीहरुका कुरा खुट्ट्याउन सक्दैनौँ अनि जे भने पनि मख्ख पर्छौँ।

   यसै कारण कोही बोलक्कड मान्छेको पहिचान बन्छ बाह्र सत्ताईस् कुरा गर्ने गफाडी। अर्थात् बाह्रै महिना २७ नक्षत्रको कुरा गरेर सबैलाई मख्ख पार्ने ज्योतिषी।

   नेपाली समाजमा अङ्कलाई लिएर अरु पनि भनाइहरु चलनमा छन्। उदाहरणका लागि 'तीन बास गर्नु हुँदैन'। 'ए आठ बाह्र भएको रहेछ अनि कहाँ राम्रो हुन्थ्यो!'

   नेपालमा जस्तै अन्य देशमा पनि अङ्कलाई लिएर विभिन्न मानक र अन्धविश्वासहरु रहेका छन्। जस्तो अमेरिकामा अङ्क १३ लाई अशुभ मानिन्छ। मुसलमानहरुका लागि ७८६ अङ्क भाग्यशाली हो। कुनै पसलको बाहिर ७८६ नम्बर लेखिएको देख्नु भयो भने अनुमान लगाउनु होस्, उक्त पसल मुसलमानको हो।


चौथो, तेह्रौँ, चौधौँ र चौबीसौँ तला उल्लेख नभएको लिफ्ट।

चिनियाँ अङ्कका अन्धविश्वास

   चीनमा पनि अङ्कलाई लिएर कयौँ अन्ध विश्वासहरु रहेका छन्। भन्नुहोला चीन त कम्युनिष्टले सञ्चालन गरेको मुलुक हो, त्यहाँ कसरी अन्ध विश्वास हुन्छ? यदि त्यस्तो सोचाइ राख्नुभयो भने तपाईं गलत हुनुहुन्छ। विश्वमै अङ्कमाथिको सबैभन्दा धेरै अन्ध विश्वास चीनमा छ।

   विभिन्न अङ्कलाई चिनियाँहरुले विश्वास गरेर ती अङ्कलाई राम्रो अथवा नराम्रो भन्नुको पछाडि ती अङ्कको उच्चारण पद्धतिले पनि काम गरेको छ। चिनियाँ शब्द उच्चारण चारवटा तहबाट हुने गर्छ। शब्द एउटै भए पनि उच्चारण तहअनुसार अर्थ फरक फरक हुन सक्छ।

   उदाहरणका लागि अङ्क ३ लाई चिनियाँ भाषामा 'सान' भनिन्छ। अङ्क ३ जनाउने 'सान' र जीवन अथवा जन्म जनाउने 'शान' उस्तै सुनिने भएकाले चिनियाँ परम्परामा ३ अङ्कलाई राम्रो मानिन्छ। तीन अङ्क राम्रो भए जस्तै अङ्क ४ चाहिँ नराम्रो मानिन्छ। ४ लाई चिनियाँ भाषामा 'स' भनिन्छ जुन मृत्यु जनाउने शब्दकै उच्चारण जस्तो हो। त्यसकारण ४ अङ्कलाई घृणा गर्ने मात्र होइन कतिपय घर, सुपरमार्केट, अस्पताल अथवा कार्यालयका लिफ्टमा चौथो तलाको गणना नै हुँदैन। तला १, तला २, तला ३ पछि तला ३ 'ए' हुन्छ अनि तला ५ हुन्छ।

   त्यसैगरी लिफ्टमा ६, ७, ८, ९, १०, ११, १२ हुन्छ तर १३ र १४ हुँदैन। १३ को ठाउँमा १२ 'ए' र १४ को ठाउँमा १२ 'बी' हुन्छ अनि एकैचोटि १५ हुन्छ। चिनियाँ उच्चारणमा १३ अङ्कको अर्थ नराम्रो नभए पनि अमेरिकी नक्कल गरेर लिफ्टमा नलेखिएको हो। तर १४ को चिनियाँ उच्चारण 'शस' हुन्छ जसको अर्थ मृत्य भएको भन्ने हुन्छ। त्यसकारण त्यसैगरी १५ देखि २३ सम्म हुन्छ तर २४ हुँदैन। २४ को ठाउँमा २३ 'ए' हुन्छ। त्यसपछि २५ बाट गणना हुन्छ। चिनियाँ भाषामा २४ को उच्चारण 'आरशस' हुन्छ जसको अर्थ सहजै मृत्य भन्ने हुन्छ।

   बेइजिङका अग्ला भवनमा रहेका लिफ्टमा कताकति यस्तो देखिन्छ तर सबैतिर चाहिँ होइन। जहाँ जसले अङ्कमाथि भारी अन्धविश्वास गर्छन् ती भवनका लिफ्टमा मात्र यस्तो देखिने हो। लिफ्टमा यस्तो अमिल्दो नम्बर देखिने कुरा सामान्य होइन, असामान्य हो। त्यही भएर त यो लेख तयार बनाउनु पर्‍यो। पत्रकारितामा चाल्स ए डानाले भनेका छन् 'कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरको खुट्टा टोक्यो भने समाचार बन्छ।

'
सबैभन्दा भाग्यशाली नम्बर प्लेट भएको कार।

   अङ्कका अर्थ र चिनियाँ उच्चारण

   चिनियाँ अङ्क ५ को उच्चारण 'उ' हुन्छ जसको अर्थ केही पनि छैन भन्नेसँग मिल्दोजुल्दो हुन्छ। त्यसकारण ५ लाई मात्र खासै चासो नदिए पनि ५ सँग जोडिएर आउने ३ र ४ ले अर्थलाई व्यापक परिवर्तन गराउँछ। ५३ को उच्चारण 'उसान' हुन्छ जसको अर्थ 'जीवन छैन' भनेको जस्तो हुन्छ भने ५४ को उच्चार 'उस' हुन्छ जसको अर्थ 'मृत्यु छैन' भन्ने हो। त्यसकारण यो राम्रो मानिन्छ। तीन अङ्क राम्रो हुँदाहुँदै पाँचसँग आएर नराम्रो भयो भने चार अङ्क नराम्रो हुँदा पनि पाँचसँग जोडिनाले राम्रो भयो।

   चिनियाँ भाषामा ६ अङ्कलाई 'लिउ' उच्चारण गरिन्छ। 'लिउ'को अन्य अर्थमा वृद्धि हुनु, फैलनु, व्यापक हुनु पनि भएकाले व्यापारमा ६ अङ्कलाई अत्यन्त राम्रो मानिन्छ। पश्चिमा जगतमा ६६६ नम्बरलाई अपशकुन मानिए पनि चीनमा भने ६६६ लाई भाग्यशाली नम्बर मानिन्छ।

   चिनियाँमा अङ्क ७ को उच्चारण 'छी' हुन्छ। चीनमा यसलाई राम्रो र नराम्रो दुवै रुपमा लिइन्छ। पहिले पहिले ७ अङ्कलाई अशुभ मानिन्थ्यो किनभने सातलाई सातले गुणा गरेर आउने योग ४९ दिनसम्म मरेको मान्छेको आत्मा धर्तिमै भौँतारिरहेको हुन्छ भन्ने विश्वास थियो। परापूर्वकालमा चिनियाँ चन्द्रमासको सातौँ महिनालाई प्रेत महिना पनि भनिन्थ्यो। हिजोआज सातौँ महिनालाई चीनमा अत्यन्त राम्रो मानिन्छ। चिनियाँ चन्द्रमासको क्यालेन्डर अनुसार सातौँ महिनाको सातौँ दिनलाई चीनमा प्रेम दिवस मनाइन्छ।

  आहा अङ्क आठ!

   चिनियाँ परम्परा, संस्कृति र विश्वासमा ८ अङ्क सबैभन्दा राम्रो, शुभ, अवसर र शकुनका रुपमा मानिन्छ। चिनियाँ बौद्ध धर्मको परम्परा अनुसार पनि ८ अङ्क शुभ सङ्केतका रुपमा प्रचलित छ। कमलको फूल फक्रदा आठ पत्तामा हुने भएकाले बौद्ध धर्ममा कमलको फूल र ८ अङ्कलाई चीनमा सम्मान गरिन्छ। दुईवटा ८८ अङ्क जोडिएर आउँदा खुशी र उत्सव सँगसँगै ल्याउँछ भन्ने मान्यता पनि चीनमा रहेको छ। आम चिनियाँ समाजमा ८ अङ्कलाई अत्यधिक प्राथमिकता दिइन्छ। कुनै शुभकार्य, व्यापार, संगठन, रेष्टुरेन्ट, बैंक, यातायात आदिको थालनी कार्य महिनाको ८ तारिख गरिन्छ। उदाहरणका लागि सन् २००८ मा सम्पन्न २९ औँ गृष्मकालीन ओलम्पिक खेललाई लिन सकिन्छ। चीनमा आयोजना भएको २९ औँ गृष्मकालीन ओलम्पिक खेलकूद सन् २००८ को ८ औँ महिना (अगष्ट) को ८ तारिख अपरान्ह ८ बजेर ८ मिनेट ८ सेकेण्ड जाँदा उद्घाटन भएको थियो।

   चिनियाँ अपार्टमेन्टको आठौँ तलाको फ्ल्याट किन्नका लागि तुलनात्मक रुपमा महङ्गो पर्छ। प्रायजसो चिनियाँ रेष्टुरेन्टमा टेबुलको वरिपरी आठवटा कुर्सीको सेट मिलाइएको हुन्छ।

   चीनमा ८ अङ्कको महिमा त्यतिमै सीमित छैन। सन् २००३ मा सिचुवान एयरलाइन्सले सबै अङ्क ८ वटा ८ भएको टेलिफोन नम्बर २३ लाख ३० हजार चिनियाँ युआनमा किनेको थियो। त्यतिखेर बीबीसीले यसलाई समाचार नै बनाएको थियो। आठवटा आठ भएकाले सो एयरलाइन्सले शौभाग्यशाली नम्बरका रुपमा सो टेलिफोन लाइन किनेको हो।

   त्यसैगरी चच्याङ प्रान्तको सदरमुकाम हाङ्चोउका एकजना व्यक्तिलाई आफ्नो सवारी साधनको नम्बर प्लेट मात्र ११ लाख २० हजार युआनमा बिक्री गर्न अफर आएको थियो। उनको सवारी साधनको नम्बर 'ए' ८८८८८ थियो।

   चीनमा नयाँ सवारी सधान किन्न पाए पनि नम्बर प्लेट पाइँदैन। बेइजिङ, शाङहाई, थिआनचिन, हाङचौ जस्ता ठूला सहरमा नम्बर प्लेट पाउनका लागि वर्षौँ कुर्नुपर्छ। कुनै पुरानो सवारी साधनको नम्बरप्लेट किनेर सवारी साधन नष्ट गरी नयाँ किन्न चाहिँ पाइन्छ। त्यही भएर नम्बरप्लेट मात्र किन्न पनि सवारी साधनकै हाराहारीमा शुल्क तिर्नुपर्छ। तर यहाँ त भाग्यशाली नम्बरप्लेटका लागि थुप्रै सवारी साधन किन्न पुग्ने पैसाको अफर गरिएको छ।


चौथो, तेह्रौँ, चौधौँ र चौबीसौँ तला उल्लेख नभएको अर्को लिफ्ट।

  उडान सङ्केतमा पनि अङ्क आठ

   चीनबाट उडान भर्ने प्रायजसो अन्तर्राष्ट्रिय उडानको सङ्केत पनि अङ्क ८ बाट गरिएको हुन्छ। शाङ्हाईबाट क्यानाडाको टोरन्टो उडान भर्ने क्यानेडिएयन उडानको नम्बर 'एसी' ८८ हो। हङ्कङबाट आस्टर्डम उडान गर्ने नेदरल्याणको केएलएमको उडान नम्बर 'केएल' ८८८  हो। बेइजिङबाट अबुधावी उडान गर्ने इतिहाद एयरलाइन्सको उडान नम्बर 'ईवाई' ८८८ हो। बेइजिङदेखि सानफ्रान्सिस्को उडान गर्ने युनाइटेड एयरलाइन्सको उडान नम्बर 'युए' ८८ हो। एयर अस्टनाको बेइजिङबाट अल्माटीको उडान नम्बर 'केसी' ८८८ हो भने ब्रिटिस एयरलाइन्सको सिचुवानको छन्तुबाट लण्डनसम्मको उडान नम्बर 'बीए' ८८ हो। हङकङबाट भान्कोभर उडान गर्ने क्याथे प्यासिफिकको उडान नम्बर पनि 'सीएक्स' ८८८ हो।

   यात्रा सुरक्षित र सफल होस् भन्ने विश्वासले सबै उडानको नम्बरमा ८ अङ्क समावेश गरिएको हो। नेपाली बजारमा पाइने तासको पछाडिपट्टि ८८८ लेखिएको पनि तपाईंको भाग्य जमोस् र खेल जित्न सफल हुनुहोस् भनेर राखिएको हो।

   ९ अङ्कलाई चिनियाँ भाषामा 'चिउ' उच्चारण गरिन्छ जुन शब्द दीर्घकालीन अथवा कालजयी भन्नेसँग मिल्ने हुनाले ९ लाई पनि राम्रो अङ्कका रुपमा लिइन्छ। पहिले पहिलेका बादशाहको पोशाकमा ९ वटा ड्रागन बनाइएको हुन्थ्यो जसलाई सन्तुलन र सद्भाव दर्शाउने प्रतीक मानिन्थ्यो।

 
चौथो, तेह्रौँ, चौधौँ र चौबीसौँ तला उल्लेख नभएको तेस्रो लिफ्ट।

      अङ्कमै रोमान्स गर्छन् चिनियाँहरु       

   एकात्मक अङ्क बाहेक विभिन्न अङ्कहरु सँगसँगै आउँदा दिने अर्थ पनि चिनियाँ संस्कृतिमा निकै अनौठो र रमाइलो हुन्छ। १३१४ अङ्कलाई चीनमा सबैभन्दा रोमान्चक मानिन्छ किनभने यसको चिनियाँ उच्चारण 'यिसान यिस' हुन्छ जुन 'यिशान यिश'सँग मिल्दोजुल्दो हुने भइहाल्यो। यसको अर्थ सँधैभरी अथवा सदावहार भन्ने लाग्छ। त्यसैगरी ५२१ लाई रोमान्चक नम्बर मानिन्छ। यसको उच्चारण उआरयी हुन्छ जुन वोआइनी जस्तै सुनिने हुनाले यसलाई रोमान्टिक मानिएको हो। चिनियाँ भाषामा वोआइनी भनेको म तिमीलाई प्रेम गर्छु अर्थात् 'आइ लभ यु' हो।

   त्यसैगरी ५१० लाई पनि प्रेम दर्शाउने नम्बर मानिन्छ। ५१० को उच्चारण 'उ यावो लिङ' हुन्छ, जुन 'वो यावो नि' सँग मिल्दोजुल्दो हुन्। 'वो यावो नि' को अर्थ 'म तिमीलाई चाहन्छु' हुन्छ। चीनमा प्रेमीले प्रेमिकालाई वीच्याटमा पैसा पठाउँदा प्राय ५१० युआन पठाउने गर्छन्।

   चीनमा नवविवाहित जोडीलाई शुभकामना दिँदा ३३९९ नम्बर प्रयोग गरिन्छ। चिनियाँ भाषामा ३३९९ को उच्चारण सानसान चिउचिउ हुन्छ जसको अर्थ जीवनभर सँगै रहनु भन्ने हुन्छ।

   ५१४ नम्बरलाई दुर्भाग्यपूर्ण मानिन्छ किनभने यसको उच्चारण वु यावो स हुन्छ जसको अर्थ 'म मर्न चाहन्छु' भन्ने लाग्छ। क्यानाडाको मोन्ट्रियलमा पढ्ने आफ्ना साथीलाई चिनियाँहरु जिस्क्याउने गर्छन्। किनभने मोन्ट्रियलको टेलिफोन एरियाकोड ५१४ हो। अरुलाई अपमान गर्नुपर्‍यो अथवा सराप्नु पर्‍यो भने ७४८ नम्बर प्रयोग हुन्छ। चिनियाँ उच्चारण 'छि स पा'को अर्थ 'मरिहाल' अथवा 'नर्कमा जा' भन्ने हुन्छ।

 
चौथो, तेह्रौँ र चौधौँ तला उल्लेख नभएको लिफ्ट।

ठिटाठिटीले रोजेको दिन

   अङ्कमाथिको चिनियाँ विश्वासको अर्को उदाहरण हो सन् २०१३ जनवरी ४ तारिख। उक्त दिन चीनमा लाखौँ जोडीहरुले बिहे गरेका थिए। बिहे गर्नका लागि त्यही दिन किन रोजे चिनियाँहरुले भन्ने कुरा पनि रोचक छ। सन् २०१३ जनवरी ४ तारिख शुक्रबार थियो। चिनियाँ चलन अनुसार मिति लेख्दा शुक्रबार २०१३ जनवरी ४ लेखिन्छ। चीनमा हप्ताको पहिलो दिन सोमबार भएकाले शुक्रबार पाँचौ बार हो। सतर्थ शुक्रबार २०१३ जनवरी ४ लाई यसरी लेखिन्छ ५२०१३१४ लेखिन्छ, जसको उच्चारण 'उ आर लिङ यी सान यी स' हुन्छ र 'वो आइ नि यीशान यीश' जस्तै सुनिन्छ।

    'वो आइ नि यीशान यीश' भनेको चाहिँ 'म तिमीलाई जीवनभरका लागि माया गर्छु' भन्ने हुन्छ। आफ्नो बैबाहिक जीवनलाई दिगो बनाउनका लागि सो दिनमा लाखौँ चिनियाँहरुले विवाह गरेका थिए। बिहे गर्दा नै चिनियाँहरु आफ्नो दाम्पत्य जीवन कति टिक्छ भन्ने कुरामा शङ्का गर्छन्। चीनमा दैनिक दस हजार बढीले सम्बन्ध बिच्छेद गर्छन्।

   हजार जिब्रा भएको शेष नागले त बखान गर्न सक्दैन चिनियाँ अङ्कको महिमा। एउटा सानो लेखमा के सक्नू मैले। धन्य छ चिनियाँ बाह्र सत्ताईस्‌का कुराहरु।

 

साभारः  नेपाल भ्युज अनलाइन।