२५ पुसदेखि चितवन महोत्सव
2023-01-05 16:47:05CRI
Share with:

नारायणी नदी किनारमा चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । ४ सय ५० स्टल रहने महोत्सव स्थलमा धमाधम स्टल, मञ्च निर्माणको काम भइरहेको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २५ पुसदेखि ४ माघसम्म महोत्सव सञ्चालन हुँदैछ।

 

पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्ने बताउनुभयो। उहाँका अनुसार महोत्सवमा सातवटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेस्टुराँ लगायतका परिसर हुनेछन् । यसपालि तोरी र मौरी प्रवर्द्धनगर्ने गतिविधि सञ्चालन हुनेछ।

 

महिला उद्यमीहरूका लागि मौलिक स्रोत साधनबाट के के बनाउन सकिन्छ भन्ने डेमोसमेत देखाउने तयारी रहेको उनले बताए । महोत्सव पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको जानकारी उनले दिए । १० दिनको अवधिमा २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ। महोत्सव अवधिमै २८ पुसदेखि २ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेस्टिबल हुनेछ।

 

फुड फेस्टिबलमार्फत् परम्परागत खानाको प्रवर्द्धन गरिने छ । जलयात्रा, आदिवासी जनजातिको भेषभूषा, कला संस्कृति झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनीले निरन्तरता पाउनेछन् । फन पार्कसमेत सञ्चालनमा आउनेछ । चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनमा पाइने जनावरको विम्बात्मक प्रतिमा राखेर कृत्रिम जु राखिने कारोबार अनलाइनले जनाएको छ।