धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ । बुधवार धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा एक समारोहबीच सुनसरीको प्रतिनिधि सभा सदस्य अशोक राईले धरान दिवसको उद्घाटन गर्नुभएको थियो। प्रतिनिधि सभा सदस्य राईले धरानको विकासमा स्थानीय, प्रदेश, र सङ्घ सबै सरकारले मिलेर गर्ने बताउनुभयो । निर्वाचन सबैले जितेको हो जिम्मेवारी सबैको हुन्छ औपचारिक रूपमा एक भोट बढी ल्याउनेले जिम्मेवारी बढी पाएको मात्र हो राज्यको सेवामा सबै रहेको उहाँले बताउनुभयो ।
धरानका नगर प्रमुख हर्कराज राईले धरानमा जे जुन पार्टीबाट आए पनि सबै एक भएर धरानको विकासमा लागिपरेको बताउनुभयो । उहाँले यस कुरामा शङ्का नगर्न आग्रह गर्नुहुँदै धराने जनतालाई विश्वास गर्न भन्नुभयो। धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो । उहाँले धरान १२२ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको बताउनुभयो ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान डे उत्सवको आयोजना गर्दै आएको छ। यो वर्ष धरान स्थापना भएको १२२ औँ वर्ष पुगेको गोरखापत्र अनलाइनमा खबर छ।
धरान उत्सवमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत १३ जना विद्यार्थीले निर्माण गरेको ‘गो कार्ट’ पुराना सामग्रीको प्रयोगबाट १ लाख रुपियाँको लागतमा निर्माण गरिएको ‘गो कार्ट’ का चालक विद्यार्थी मौसम विष्टले बताउनुभयो ।उहाँका अनुसार ‘गो कार्ट’ पेट्रोलबाट चल्ने र प्रतिलिटर २५ किलोमिटर माइलेज दिने ‘गो कार्ट’ को औसत गति प्रतिघण्टा ५० किलोमिटर रहेको बताउनुभयो।