हिमालय एयरलाइन्सको काठमाडौँ-बेइजिङ सीधा उडान पुनः सुचारु हुने
2023-01-06 14:47:13cri
Share with:

नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू हुने भएको छ । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले आगामी माघ ३ गतेदेखि हरेक मंगलबार काठमाडौँ-बेइजिङ रुटमा सीधा उडान सुचारु गर्न लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साडे ९ बजे उड्ने जहाज बेइजिङस्थित तासिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न ४ बजेर १० मा अवतरण हुनेछ। त्यसैगरी साँझ ५ - ४० मा त्यहाँबाट उड्ने विमान राति ९ बजेर १० मिनेट जाँदा काठमाडौँमा अवतरण गर्नेछ।

 

सन् २०१९ को अक्टोबरमा सुरु भएको सो उडान कोरोना महामारीसँगै रोकिएको थियो । दुबैतर्फ आवागमन प्रक्रिया सहज भएसँगै नेपाली बजारले तीन वर्षदेखि प्रतिक्षा गरेको चिनियाँ पर्यटकको आगमन बढ्ने निश्चित छ । त्यसले दुबै देशको बीचको सांस्कृतिक र आर्थिक व्यापार प्रवर्द्धनमा सहयोग गर्ने हिमालय एअरलाइन्सको विश्वास छ ।

 

कोरोनाका कारण चीनले तीन वर्षदेखि लगाउँदै आएका प्रतिबन्धका नियमहरू खारेज गर्दै जनवरी ८ तारिखका दिनदेखि लागू हुने गरी आवागमन प्रक्रिया सरल बनाएको छ। अब विदेशबाट जाने यात्रुहरुले चीनमा क्वारेन्टिन बस्नु पर्ने छैन। त्यसको साथै चीन पुगेपछि गरिँदै आएका कोरोनाको न्यूक्लिक एसिड टेस्टको व्यवस्था पनि खारेज गरिएको छ । चीनतर्फको उडान भर्नुअघि विदेशस्थित चिनियाँ राजदूताबास तथा अन्य नियोगबाट अनिवार्यरुपमा स्वास्थ्यसम्बन्धी क्यूआर कोड लिनुपर्ने नियम पनि हटाइएको छ । चिनियाँ नागरिकलाई पनि सोही दिनदेखि विदेश भ्रमणका लागि खुल्ला गरिएको छ ।

 

नेपालसमाज अनलाइनका अनुसार महामारीपछि हाल हिमालयले काठमाडौँबाट खुनमिङ्ग (कुनमिङ) मा हप्तामा दुई उडान तथा एअर चाइनाले छन्तु (छेन्दु)मा र चाइना साउदर्न एअरलाइन्सले क्वाङ्चौ (ग्वान्झाउ)मा हप्तामा एक/एक उडान गर्दै आइरहेका छन्।