निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र
2023-01-07 17:58:31cri
Share with:

म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ। तुण्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहु घाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ । आयोजना स्थल भौगोलिक रूपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिम खोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात् दुवै आयोजनाको काम धमाधम अघि बढेको छ। 

 

कम्पनीले आयोजनाको सुरुङ,बाँध स्थलमा हेडवक्र्सका संरचना र विद्युत गृहको निर्माणलाई तीव्रता दिएको तुण्डी पावर कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो। भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भए पनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ ।

 

राहु घाट मङ्गलेको पाँच हजार तिन सय मिटर सुरुङ मध्य अहिले सम्म दुई हजार चार सय मिटर सुरुङ खन्ने काम सकिएको छ । वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिम खोलाको सिमाना बन्दी घाटमा आयोजनाको बाँध स्थल रहेको छ ।

 

चिम खोलाको बगर खोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रूपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर ढकालले बताउनुभयो । आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ ।

 

यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माणलाई  पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिन सय मिटर लामो सुरुङ मध्य तिन हजार एक सय मिटर सुरुङ खन्ने काम सकिएको हाई हिमालय कन्स्ट्रक्सन इन्जिनियर जीवन लामाले बताउनुभयो । दुई वटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा  पानीलाई ३६२ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने छ ।

 

दग्नामको पुछारमा रहेको विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगामी दुई महिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्स्ट्रक्सन साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो ।

 

विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुई वटा एक्स्काभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुण्डी पावर कम्पनीका इन्जिनियर ढकालले बताउनुभयो । आगामी तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने  कम्पनीले लक्ष्य राखेको छ ।

 

दुवै आयोजना निर्माणका लागि आयोजना प्रवर्द्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाई हिमालय हाइड्रो कम्पनी र साउथ एसियन  इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ। दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।  आयोजनाले मौवा फाँट–दग्नाम–दर्मीजा–चिम खोला हुँदै बाँध निर्माण स्थलसम्म दुई वर्ष अघि पहुँच मार्ग निर्माण गरेको थियो।