चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि 'ट्रान्जिट' खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो
2023-01-08 16:37:01cri
Share with:

लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई 'ट्रान्जिट' आजदेखि खुला भएको छ।

 

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।

 

काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भन्नुभयो,‘अब त्यहाँ क्वारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।’

 

पर्यटन व्यवसायीहरुले चीनले ट्रान्जिट खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो हुने बताएको कान्तिपुर अनलाइनले जनाएको छ। ‘अहिले पूर्वी र मध्यपूर्वी मुलुकहरुका सीमित वायुसेवाबाट यात्रुले एकतर्फी महँगो टिकटमा उड्नु परिरहेको थियो, चीनबाट पनि विदेश जान पाइने भएपछि नेपालीलाई सस्तो र सुलभ पर्छ । च्वाइस पनि बढ्छ,’ अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीमा अग्रणी मानिएको आशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भन्नुभयो।