अन्नपूर्ण पदमार्ग र मनास्लु क्षेत्रमा बढे पर्यटक, कोभिडले सुस्ताएको क्षेत्रमा पर्यटक
2023-01-08 16:40:30cri
Share with:

कोरोना संक्रमण घटेसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेको छ । पछिल्लो वर्ष पर्यटक आगमन सुखद रहेको माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले बताउनुभयो। सन् २०२० र २०२१ मा पर्यटक आगमन खासै भएन । सन् २०२२ मा भने बढेको उहाँको भनाइ छ ।

 

यो वर्ष पर्यटक आगमन बढ्ने देखिन्छ । ३/४ वर्ष अगाडिको झैं पर्यटक आउन अझै केही वर्ष कुर्नैपर्ला,’ पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले पनि धेरै जना होटल व्यवसायमा अहिले केही राहत मिलेको बताउनुभयो।

 

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङमा १ सयभन्दा बढी होटल छन् । सन् २०२२ मा १५ हजार ९ सय ३ विदेशी चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको तथ्यांक छ ।

 

यो एक्यापको पर्यटक चेकपोस्ट धारापानीको तथ्यांक हो । सन् २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा १ सय ६९, मार्चमा १ हजार २ सय ३१, अप्रिलमा २ हजार ३ सय ८२, मेमा १ हजार ९६, जुनमा १ सय ९५, जुलाईमा १ सय ९६, अगस्टमा ३ सय ६७, सेप्टेम्बरमा २ हजार ९२, अक्टोबरमा ४ हजार ६ सय ५४, नोभेम्बरमा २ हजार ९ सय ८१ र डिसेम्बरमा ४ सय ९९ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएको धारापानी चेकपोस्टको तथ्यांक छ । सन् २०२१ मा २ हजार ३ सय ७६ पर्यटक भित्रिएको एक्याप मनाङमा प्रमुख लेखनाथ गौतमले जनाउनुभयो। सन् २०२० मा ७ महिना पर्यटक आगमन शून्य हुँदा बाँकी महिना १ हजार ९ सय ७६ पर्यटक आए । सरकारले लकडाउन गरेपछि सन् २०२० को मार्च १४ देखि पर्यटक आगमन थिएन । लकडाउनपछि उक्त वर्ष पहिलो पटक नोभेम्बर ४ मा विदेशी पर्यटक आएका थिए । सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए ।

सन् २०२१ को तुलानामा २०२२ मा चक्रीय अन्नपूर्ण पदमार्गमा करिब सात गुणा पर्यटक आगमन बढेको गौतले बताउनुभयो । विश्वकै चर्चित ट्राभल गाइडबुक ‘लोन्ली प्लानेट’ले करिब ३ वर्षअघि चक्रीय अन्नपूर्ण पदमार्गलाई उत्कृष्ट १० मा समेटेको थियो । त्यसयता पर्यटक आगमन बढ्ने अपेक्षा गरिए पनि कोरोना संक्रमणका कारण पर्यटक आएका थिएनन् ।

 

चक्रीय अन्नपूर्ण पदमार्ग लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ, थोराङ्ला भन्ज्याङ (५४१६ मिटर) हुँदै मुस्ताङ निस्केर म्यादीको बाटो भएर पोखरा पुगेर चक्रीय अन्नपूर्ण पदमार्ग टुंगिन्छ । केही संसारकै अग्लो ठाउँमा रहेको ताल तिलिचो (४९१९ मिटर) पुगेर फर्किन्छन् । पहिले २१ दिन पैदल हिँडेर अन्नपूर्ण फेरो घुम्ने गरिएकामा म्याग्दीबाट जोमसोम हुँदै मुक्तिनाथ र बेंसीसहरबाट मनाङको मनाङ गाउँसम्म सडक सुविधा पुगेपछि एक सातादेखि १० दिनमै यात्रा गर्न सकिने भएको छ ।

 

गोरखास्थित मनास्लु क्षेत्र पुग्ने पर्यटक विगतको वर्षको तुलनामा ६ गुणा बढेको छ । सन् २०२२ मा ६ हजार एक सय दुई पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । सन् २०२१ मा ९ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । भूकम्पपछि कोरोना महामारीका बेला मनास्लुमा विदेशी पर्यटकको संख्या कमी आएको थियो ।

 

कोरोना महामारीको दुई वर्षको तुलनामा यस वर्ष मनास्लु पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सत्यनारायण शाहले बताउनुभयो।  एमक्यापका अनुसार सबैभन्दा वढी अक्टोबरमा २ हजार ७१ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।  मार्च, अप्रिल, मे, अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो । चुम क्षेत्र भने ०६३ असोज ३० बाट खुला भएको थियो ।