सन् २०२२ मा ९ लाख पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा
2023-01-08 16:38:16cri
Share with:

सन् २०२२ मा ९ लाख पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने पर्यटकहरु अहिले बढ्दै गएका छन्। सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा २०२२ मा लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउनेको संख्या ९ लाख १ सय ८३ पुगेको छ।

सो वर्ष ६ लाख ४६ हजार ७८ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गर्दा २ लाख ३० हजार ४ सय १३ जना भारतीय पर्यटक तथा तेश्रो मुलुकका २३ हजार ६ सय ९२ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकारी राजन बस्नेतले जानकारी दिनुभयो। भारतीय पर्यटक भने लुम्बिनीमा अहिलसम्मकै सर्वाधिक आएका हुन् ।

 

सूचना शाखाका अनुसार २०२१ मा नेपाली ४ लाख ६३ हजार ९ सय ६३ जना, भारतीय ४३ हजार ७ सय ३२ तथा तेश्रो मुलुकका १ हजार १ सय ९७ जना पर्यटक लुम्बिनी आएका थिए। नेपाली पर्यटक आउने क्रम बढेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मबाट लुम्बिनी घुम्न आएका छन्, सबै भन्दा बढी डिसेम्बरमा १ लाख १ सय ९६ जना नेपाली पर्यटक लुम्बिनी भ्रमणका लागि पुगेका थिए ।

 

सन् २०१९ पछि सबै भन्दा बढी पर्यटक लुम्बिनी पुगेका हुन् । २०१९ मा ११ लाख ७८ हजार १ सय ४० नेपाली, २ लाख ६ हजार १ सय ७१ भारतीय र १ लाख ७४ हजार १५ तेश्रो मुलुकका गरी कुल १५ लाख ५८ हजार ३ सय २६ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। २०२२ मा लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरु (राहदानी बाहक)मा सबैभन्दा बढी भियतनामका ६ हजार ६ सय ७३, थाइल्याण्डका ४ हजार ३ सय ८०, श्रीलंकाका १ हजार ८ सय ८५, म्यान्मारका १ हजार ४ सय ९५, जर्मनीका ९ सय ५०, अमेरिकाका ९ सय २४, फ्रान्सका ६ सय ६१, मलेसियाका ६ सय ४२, दक्षिण कोरियाका ६ सय १७, नेदरल्याण्डका ४ सय ६३, इन्डोनेसियाका ४ सय ६३, चीनका ४ सय ३२, स्पेनका ३ सय ७३ लगायत विभिन्न ९५ देशका पर्यटक छन् ।

 

रुस, स्पेन, इटाली, डेनमार्क, अष्ट्रेलिया, सिंगापुर, जापान, अर्जेन्टिनालगायतका मुलुकबाट पनि लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । “अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो छ, यस्तै तरिकाले पर्यटक आगमन बढयो भने पुरानै लयमा फर्कन्छ लुम्बिनी, विदेशी पर्यटक पनि विस्तारै बढीरहेका छन्” लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भन्नुभयो।

लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसँग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलबस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढा टाढाबाट पनि आउने गरेका छन्। मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश नि:शुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शूल्क लाग्छ। यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।

पर्यटकका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति द्धिप, केन्द्रीय नहरमा नौका बिहार आकर्षक छन् । अहिले बसन्त ऋतुमा फुलेका विभिन्न रंगिबिरंगी फूलहरु, चराको चिरबिरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । लुम्बिनीमा ४ सय ५० भन्दा बढी थरीका चराहरु पाइन्छन् ।

 

कारोबार अनलाइनका अनुसार लुम्बिनी आउने पर्यटक बढे पनि एक दिने पर्यटक नै बढी रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । अहिले लुम्बिनीमा पर्यटक आगमन वृद्धि भएको छ । लुम्बिनी वरिपरिका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन् । आन्तरिक मात्रै नभइ बाह्य पर्यटकहरु (भारतीय र तेश्रो मुलुकका) पनि एकै दिनमा फर्कने गरेका छन् । केही भारतीय र युरोपीयनहरु एकाध बास बस्ने गरेका छन्। भारतबाट प्याकेज बनाइ आउने तेश्रो मुलुकका पर्यटक पनि एक दिन मात्र लुम्बिनीमा रहने गरेको ज्ञवालीको भनाइ छ।