नेपाली आर्थिक वर्षको पहिलो ४ महिनामा ९३ प्रतिशतले घट्यो विदेशी लगानी
2023-01-08 16:39:24cri
Share with:

चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ४३ करोड रुपैयाँ कुल प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९३.५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको कात्तिकसम्म ६ अर्ब ६३ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

 

पछिल्लो समयमा विदेशी लगानी घट्ने क्रम गत आर्थिक वर्षको अन्तिम महिना (असार) बाटै सुरु भएको हो । यसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी ४.९ प्रतिशतले घटेको थियो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएकामा गत आर्थिक वर्षमा केही घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको थियो ।

 

चालु आर्थिक वर्षका पहिलो २ महिनामा विदेशी लगानी ऋणात्मक थियो । पहिलो महिनामा १ अर्ब ४० करोड र दोस्रो महिनासम्ममा ८० करोड रुपैयाँ विदेशी लगानी ऋणात्मक थियो । चालु आर्थिक वर्षको सुरुमा नेपालको शैक्षिक क्षेत्रबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएकाले ती महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ । विगतमा नेपालका शैक्षिक क्षेत्रमा आएको विदेशी लगानीमध्ये चालु आर्थिक वर्षको सुरुमै करिब पौने २ अर्ब रुपैयाँ फिर्ता भएको थियो । त्यसै पनि नेपालमा थोरै मात्र विदेशी लगानी आउने गरेको र त्यही अवस्थामा ठूलो परिमाणमा पुरानो लगानी बाहिरिएपछि खुद प्रत्यक्ष विदेशी लगानी ऋणात्मक रहेको जानकारहरू बताउँछन् । यद्यपि तेस्रो महिना (गत असोज) देखि भने विदेशी लगानीको वृद्धि सकारात्मक हुन थालेको देखिन्छ । यसअनुसार गत असोजसम्ममा करिब ८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएकामा कात्तिकसम्ममा त्यो बढेर करिब ४३ करोड रुपैयाँ पुगेको हो । खासगरी कोभिडपछि विश्व अर्थतन्त्रमै समस्या रहेकाले धेरै देशमा विदेशी लगानी घटेरहेको र नेपालमा पनि त्यसको प्रभाव परेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताउनुभयो।

 ‘विदेशी लगानी सधैंभरि बढिरहन्छ भन्ने पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘विश्वव्यापी रूपमै मन्दी छ । यस्तो अवस्थामा नेपालमा मात्र विदेशी लगानी बढ्ने भन्ने हुँदैन ।’ यद्यपि नेपालमा धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

 

हरेक वर्ष नेपाल भित्रिने एफडीआईको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । नेपालमा विभिन्न क्षेत्रका ५५ वटा राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको गत भदौमा राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, ०७७/७८’ ले देखाएको थियो ।

 

आर्थिक वर्ष ०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये कुल १ सय ९७ कम्पनीको नमुना छनोट गरी राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो । उक्त अवधिसम्म करिब २ खर्ब २८ अर्ब रुपैयाँ बराबर एफडीआई मात्र लगानीमा छ । सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ एफडीआई भित्रिएको छ । तर सोही आर्थिक वर्षमा विदेशी लगानीबापतको लाभांशका रूपमा मात्र करिब २६ अर्ब रुपैयाँ बाहिरिएको छ । यसबाहेक हरेक वर्षजसो नेपालबाट विदेशी लगानी पनि फिर्ता हुने गरेको तथ्यांकहरूले देखाएका छन् ।

 

यसरी फिर्ता हुने विदेशी लगानी र हरेक वर्ष लाभांशबापत बाहिरिने रकम जोड्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने जानकारहरू बताउँछन् । हरेक वर्ष नेपाल भित्रिने एफडीआई सोही वर्षको मात्र हुने तर उक्त अवधिमा लाभांशका रूपमा बाहिरिने रकम हालसम्मको सबै एफडीआईको भएकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिएको हुन सक्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा लगानीमा रहेको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७७/७८ मा लगानीमा रहेको एफडीआई १४.८ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । ‘कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९, सञ्चितिको ३१.६ र कर्जाको अंश १४.५ प्रतिशत छ,’ सर्वेक्षणमा भनिएको छ, ‘उक्त अवधिमा चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।’ मुलुक भित्रिएको एफडीआईमध्ये आधाभन्दा बढी (करिब ५६ प्रतिशत) वाग्मती प्रदेशमा मात्र केन्द्रित रहेको सर्वेक्षणले देखाएको छ ।

 

मुलुक संघीयतामा गएको करिब ५ वर्ष भइसक्दा पनि वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनलगायत वित्तीय क्षेत्रका महत्त्वपूर्ण आयाम वाग्मतीमै केन्द्रित देखिन्छ । यसैगरी दोस्रोमा धेरै विदेशी लगानी केन्द्रित रहेको प्रदेश १ हो भने तेस्रोमा गण्डकीमा धेरै विदेशी लगानी रहेको सर्वेक्षणले औंल्याएको छ । त्यसपछि क्रमशः मधेस, लुम्बिनी र सुदूरपश्चिममा धेरै विदेशी लगानी रहेको देखिन्छ । कर्णाली प्रदेशमा विदेशी लगानीको हिस्सा शून्य छ ।

नेपालमा लगानीमा रहेको एफडीआईमध्ये ६० प्रतिशतभन्दा बढी औद्योगिक क्षेत्रमा लगानी भएको सर्वेक्षणले देखाएको छ । करिब ४० प्रतिशत रकम सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३०.८ र उत्पादनमूलक क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । कुल एफडीआईमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको पनि सर्वेक्षणले औंल्याएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा दक्षिण एसियाबाहेक सबै राष्ट्रमा विदेशी लगानी आप्रवाह बढेको छ । उक्त अवधिमा विश्वभर करिब साढे ६४ प्रतिशतले विदेशी लगानी बढेको देखिन्छ । यसअनुसार विकसित मुलकमा विदेशी लगानीको वृद्धिदर १ सय ३४ प्रतिशत र विकासशील मुलुकमा करिब ३० प्रतिशत छ । एसिया क्षेत्रका चीन, हङकङ र सिंगापुरमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको छ भने दक्षिण एसियामा करिब २७ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ । कान्तिपुर अनलाइन।