वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट
2023-01-09 16:02:13cri
Share with:

करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ, वैधानिकीकरण, व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरूले मात्र दिँदै आएका थिए। यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो। आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरु गरिएको कारोबार अनलाइनले लेखेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सातवटै प्रदेशबाट सुरु भएको जानकारी दिनुभयो। आचार्यका अनुसार प्रदेशमा रहेका कार्यालयहरूका लागि आवश्यक कानुन बनाएर त्यसअनुसार अधिकार प्रत्यायोजन गरेपछि ६ वटै प्रदेशबाट आइतबारदेखि सेवा दिन सुरु भएको छ। यो व्यवस्थाले वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्ति काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गराएको छ।

यसअघि नै प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिने सेवा भने सुरु भइसकेको थियो। अब नयाँ, वैधानिकीकरण, व्यक्तिगत र संस्थागत श्रमस्वीकृति र मेनपावरले गर्ने छनोट, भर्ना र कारवाही प्रक्रियाका सबै काम काठमाडौं बाहिरबाट पनि हुनेछन्। यो निर्णयसँगै हजारौं खर्च गरेर वैदेशिक रोजगारीका लागि व्यवस्था मिलाउन काठमाडौं आउनुपर्ने झन्झट हटेको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवा र छनोट प्रक्रियामा सहभागी मेनपावरको सहजताका लागि काठमाडौं उपत्यका बाहिरबाट समेत श्रमस्वीकृतिसहित सबै काम हुने गरी अधिकार दिएको हो।

२०७५ देखि धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरबाट पुनः श्रमस्वीकृतिको काममात्र हुँदै आएको थियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंबाहेक बुटवलको श्रम कार्यालयबाट श्रमस्वीकृतिका सबै काम हुँदै आएको थियो। यसबाहेक अहिलेसम्म नयाँ श्रमस्वीकृति, वैधानिकीकरण श्रमस्वीकृति र मेनपावरको अनुगमनको काम वैदेशिक रोजगार विभाग बुद्धनगर र ताहाचल कार्यालयबाट मात्र हुँदै आएको थियो।

विभागले कात्तिकबाट धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो। तर, अहिलेसम्म ती स्थानबाट सबै काम हुन सकेको थिएन। वैदेशिक रोजगारीमा जाने नेपाली युवा र सोसँग सम्बन्धित सरोकारवालाको सहजताका लागि नयाँ व्यवस्था गरिएको र यसले सेवा प्रवाह सरल हुने विभागको अपेक्षा छ। यो निर्णयसँगै श्रमस्वीकृतिको काम गर्दै आएको विभागको ताहाचल कार्यालयको कार्यभार आधा घट्ने महानिर्देशक आचार्यको अनुमान छ।

हाल काठमाडौंबाट दैनिक करिब ११ सय र अन्य कार्यालयबाट ५ देखि ६ सयको हाराहारीमा श्रमस्वीकृति जारी गर्ने क्षमता छ। वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै प्रकारका श्रमस्वीकृति गरेर विभागले महिनाको करिब ७४ हजार जनालाई श्रमस्वीकृति दिने गरेको तथ्यांक छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ अनुुसार तोकिएको संख्यामा नबढ्ने गरी श्रमस्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रमस्वीकृति दिने काम प्रदेश कार्यालयबाटै हुनेछ।

यसैगरी अब तोकिएका कार्यालयले काठमाडौंबाहिर रहेका मेनपावरको अनुगमन तथा निरीक्षणसमेत गर्नेछन्। यसअघि यस्तो कार्य वैदेशिक रोजगार विभागको बुद्धनगरमा रहेको कार्यालयले मात्र गर्दै आएको थियो। स्वास्थ्य संस्थाहरूको अनुगमन तथा नियमन भने केन्द्रले नै गर्नेछ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्व र अन्तिम श्रमस्वीकृतिसहित सबै सेवा काठमाडौंपछि पहिलो पटक भैरहवाबाट सुरु भएको थियो।

यसअघि भैरहवा क्षेत्रबाट मासिक २ हजारदेखि २५ सय श्रमिकले पुनः श्रमस्वीकृतिको सेवा लिन काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो। संस्थागत पूर्व तथा अन्तिम र व्यक्तिगत श्रमस्वीकृतिको सेवा विस्तार भएसँगै सेवा लिनेको संख्या बढ्ने विभागको अनुमान छ। विभागले श्रमस्वीकृति लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रोजगारीका लागि विदेश जाने श्रमिकको सहजीकरणका लागि विमानस्थलभित्र वैदेशिक रोजगार सूचना तथा व्यवस्थापन कक्षसमेत खडा गरिसकेको छ।

सरकारले ०७५ माघ २३ बाट वैदेशिक रोजगारीबाट बिदा आएका कामदारले पुनः श्रमस्वीकृति सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्न ६ प्रदेशमा सेवा विस्तार गरेको थियो। श्रम मन्त्रालयले ०७५ पुस १५ बाट प्रदेश २ र ५ बाट सुरु गरेको पुनः श्रमस्वीकृति सेवा माघसम्म सबै प्रदेशमा विस्तार गरेको थियो। प्रदेश तहमा नै सेवा विस्तार गरेपछि श्रमस्वीकृति र बिमाबाहेक नै प्रतिकामदार औसत १० हजारभन्दा बढी बचत हुँदै आएको विभागको दाबी छ।

वार्षिक औषत ६ लाख ३० हजार नेपालीले आवेदन दिने श्रमस्वीकृतिको सेवा प्रदेश स्तरमा विस्तार भएसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा भिडभाड कम हुनेछ। प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रमस्वीकृति प्रदान गर्ने बाहेक वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्यसमेत हुनेछ।