विस्थापित हुनबाट जोगियो प्याराग्लाइडिङ
2023-01-09 16:05:23cri
Share with:

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्ततः पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ हुने चार जोनमध्ये एउटालाई निरन्तरता दिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनपूर्व सराङकोट, तोरिपानी, मान्द्रेढुंगा र तामागी जोनबाट प्याराग्लाइडिङ हुन्थ्यो ।

प्राधिकरणले हाल विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने सराङकोट, तोरीपानी र तामागी बन्द गरी कास्कीकोटको मान्द्रेढुंगालाई एक महिनाका लागि अस्थायी अनुमति दिएको कान्तिपुर अनलाइनले लेखेको छ । मान्द्रेढुंगा सराङकोटबाट ५ किमि र तोरीपानीबाट डेढ किमि पश्चिमतर्फ पर्छ । व्यावसायिक उडानका लागि सराङकोट र तोरीपानी उडानस्थल धेरै प्रयोग हुन्थ्यो भने मान्द्रेढुंगाबाट सिकारु पाइलटले एकल उडान भर्ने गर्थे ।

पुस १७ पछि प्याराग्लाइडिङको नियामक संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकरणले छबुँदे निर्देशनसहित पत्राचार गरेको छ । प्राधिकरणले एक महिना परीक्षण उडान अवधि तोकेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म उडान भर्नुपर्ने, हरेक दिन स्लट र सेड्युल व्यवस्थापन निर्धारण गरेर मात्र उडान भर्नुपर्ने, यात्रुको बोर्डिङ पासको व्यवस्था गर्नुपर्ने र पूर्वनिर्धारित ‘एयर स्पेस’ मा मात्रै उडान भर्नुपर्ने प्राधिकरणका सर्त छन् । हवाई खेलकुद संस्थाले प्राधिकरणको निर्देशनबमोजिम हाल परीक्षण उडान गरिरहेको छ । मान्द्रेढुंगाबाट ‘फेरिलियराइजेसन’ उडान भइरहेको संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराईले जनाउनुभयो।

पाइलटले मान्द्रेढुंगाबाट उडान भरेर पामेमा अवतरण गर्ने अभ्यास गरिरहेका छन् । दुई दिन एकल उडानपछि हाल अर्को पाइलटलाई राखेर टेन्डम उडान भरेका छन् । माघ १ बाट व्यावसायिक उडान सुरु गर्ने संस्थाको तयारी छ । ‘टेकअफ र ल्यान्डिङमा पूर्वाधार बनाउनुपर्नेछ,’ उहाँले भन्नुभयो।

पहिला सराङकोट र तोरीपानीको चार वटा टेकअफबाट ५५ प्याराग्लाइडिङ कम्पनीले उडान भर्ने गरेका थिए । अब मान्द्रेढुंगाको एउटा टेकअफबाट मात्रै उडान भर्दा चाप हुन देखिन्छ । त्यसका लागि सेड्युल, समय र फ्लिट मिलाउनुपर्ने भट्टराई बताउँछन् । प्राधिकरणले तोकेको एयर बक्स भने व्यावहारिक नभएको उनको भनाइ छ । चार जोनमध्ये मान्द्रेढुंगाका लागि यसअघि नै टेकअफपछि पूर्वतर्फ (तोरीपानी–सराङकोट) र पश्चिम (पञ्चासे) तर्फ ५–५ सय मिटर, उत्तर (सुइँखेत) तर्फ ५० मिटर, दक्षिण (पामे) तर्फ साढे ४ किमि र उचाइ समुद्री सतहबाट ६ हजार मिटर तोकिएको थियो । यो बक्सको एयर स्पेस परिमार्जन गर्नुपर्ने भट्टराईको तर्क छ । ‘मान्द्रेढुंगाको टेकअफ प्वाइन्ट नै ५ हजार ७ सय ८ फिट छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँबाट उडेपछि ३ सय मिटर पनि माथि जान पाइँदैन । कम्तीमा ७ हजार फिटसम्म जान पाउनुपर्छ ।’ प्रतिवेदन बुझाउँदा यी सुझाव समेटिने उहाँले सुनाउनुभयो ।