फिल्ड सर्भेका लागि चिनियाँ प्राविधिक र रेल्वे विभागको टोली रसुवागढीमा
2023-01-10 16:14:11cri
Share with:

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’का लागि रसुवागढी पुगेको छ। चीनबाट आएको टोली रेल्वे विभागका महानिर्देशक रोहित बिसुरालसहितको संयुक्त टोली सर्भेका लागि रसुवागढी पुगेको कान्तिपुर अनलाइनले लेखेको छ।

विभागका महानिर्देशक बिसुरालका अनुसार टोलीले स्याफ्रुबेसी, धुन्चे र रसुवागढीलगायतका ठाउँमा सर्भे गर्नेछ। टोलीमा विभागका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायतका अधिकारी पनि सहभागी छन्।

पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ। टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ। त्यसपछि करिब डेढ महिनाका लागि चीन फर्कने छ।

चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेर आएपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने महानिर्देशक बिसुरालको भनाइ छ। ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको हो। प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ’ उहाँले भन्नुभयो।

यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने छ। २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएन। २०७६ असोजमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नु भएको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ। जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चले गर्नेछ। उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।