नागढुंगा सुरुङमार्गको समय नौ महिना थप्न प्रस्ताव
2023-01-11 15:39:31cri
Share with:

बहुचर्चित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण थप भएको समयमा पनि पूरा नहुने भएको छ। आयोजना बनाइरहेको निर्माण कम्पनीले लक्षित समयमा काम पूरा नहुने भन्दै थप नौ महिना समय मागेको छ। कम्पनीले यसअघि कोरोनाकालमा काम गर्न नपाएको भन्दै तीन महिना थप म्याद पाइसकेको छ। अहिलेसम्म आयोजनाको कुल प्रगति ७३.३० प्रतिशत पुगेको कारोबार अनलाइनले लेखेको छ।

आयोजनाका अनुसार काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ८२.८० मिटर खन्ने काम पूरा भएको छ। सुरुङ छेड्ने काम समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले नौ महिना समय थप गर्न माग गरेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “आयोजनको कुल ७३.३० प्रतिशत काम पूरा भएको छ। समयमा सुरुङ छेड्ने काम पूरा नभएकाले निर्माण कम्पनीले नौ महिना थप गर्न निवेदन दिएको छ।” निर्माण कम्पनीको म्याद थपको प्रस्तावलाई महाशाखाले सिफारिस गरेर सडक विभागमा पठाएको प्रमुख पोखरेलले बताउनुभयो।

“केही दिनमा निर्णय होला। म्याद थप भएपछि आयोजना आगामी सन् २०२४ को अक्टोबरमा सम्पन्न भएर सञ्चालनमा आउने छ,” पोखरेलले भन्नुभयो, “आगामी अप्रिलमा सुरुङ पूरा गर्ने, अगस्टमा मुख्य सुरुङमार्गको ब्रेकथ्रु गर्ने योजनासहित काम भइरहेको छ। सुरुङ छेडेको थप ६ महिनामा फिनिसिङ भएर सञ्चालनमा ल्याउने योजना रहेको छ।”

निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये २ हजार ४६ मिटर सुरुङ खन्ने काम पूरा भएको छ। वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४७.९० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४९.५९ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ।

सुरुङ छेड्ने कामसँगै आयोजनाले फिनिसिङको कामसमेत तीव्रताका साथ अघि बढाएको छ। हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ। ०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग शिलान्यास गरेका थिए।

लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवै तर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुनेछ। कोभिड–१९ र आन्तरिक तयारीका कारण केही महिना ढिलो काम सुरु भएको थियो। करिब ३६ महिनामा आयोजनाको ७३.३० प्रतिशत प्रगति हासिल भएको हो। कार्यतालिकाअनुसार नै सुरुङमार्गको काम भइरहेकाले गर्दा निर्धारित समयमै पूरा हुने बताइएको भए पनि समयमा पूरा नहुने देखिएको छ।

२४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्तिसहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेका आयोजनाले बताएको छ। नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण सुरुङ निर्माण हुन लागेको हो। सम्झौताअनुसार काम सुरु गरेको ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर कोभिड–१९ का केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेको आयोजनाको समयसीमा ४५ महिना तोकिएको थियो।

आयोजना निर्माण कम्पनीले थप ९ महिना समय थप गर्ने सकिने जनाएको छ। सम्झौताअनुसार जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिना भित्र (थप गरेको ३ महिना सहित) थप ९ महिना थप हुँदा ५४ महिना हुन्छ। यसअघिको समय सीमाअनुसार आगामी २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुँदा आयोजनाको मुआब्जा वितरण गर्न पनि २५ करोड रुपैयाँ बाँकी रहेको छ।