१५ दिनमा नेपाल र चीनबीचको रसुवा नाकाबाट ३ करोडको निर्यात
2023-01-12 16:07:40cri
Share with:

नेपालबाट निर्यात खुलेको १५ दिनमा रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। रसुवा भन्सार कार्यालयकाअनुसार १२ पुसयता नेपालबाट २० वटा गाडीमा ती मूल्यको नेपाली वस्तु चीनतर्फ निर्यात भएको अनलाइन खबरले लेखेको छ।

प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीकाअनुसार नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति र माँटाका भाँडाहरु चीनतर्फ निर्यात भएका छन्। नेपालबाट वस्तु निर्यात हुँदा भन्सार शुल्क नलाग्ने र प्रज्ञापन शुल्क बापत एक सय रुपैयाँ मात्रै तिरे पुग्ने भन्सार कार्यालयले जनाएको छ।

नेपालबाट वस्तु निर्यात सुरु भएपछि व्यवसायीहरु उत्साहित भएको रसुवा उद्योग वाणिजय संघले जनाएको छ। संघका अध्यक्ष खिसाङ नोर्वु तामाङले निर्यात सुरु हुनु सकारात्मक भएको बताउनुभयो। ‘तीन वर्षदेखि रोकिएको निर्यात खुलेसँगै व्यवसायीहरु उत्साहित भएका छन्। तर कोभिड-१९ सम्बन्धी प्रोटोकलहरु अझै बाँकी छन्,’ अध्याक्ष तामाङले भन्नुभयो, ‘केरुङतर्फ परम्परागत रुपमा व्यापार गरेर बसेका नेपालीहरु कोभिड-१९ का कारण विस्थापित हुँदा नेपाली वस्तुको चीनतर्फको बजार पहिल्याउन अझै समस्या छ।’

रसुवा नेपालबाट चीनमा वस्तु निर्यातकालागि सजिलो बिन्दु भएको भन्दै उनले चीनतर्फ रसुवाकै उत्पादन निर्यात गर्नेबारे व्यवसानयीहरुसँग छलफल गरिरहेको बताए।

यता तातोपानी भन्सारबाट भने चीनले निर्यातको कोटा वृद्धि गरेको छ। भन्सार कार्यालयकाअनुसार शनिबारदेखि चीनले तीन वटाबाट बढाएर कन्टेनर संख्या ५ पुर्‍याएको छ। अहिले चीनबाट तातोपानी नाका भएर स्याउ आयात भइरहेको छ।

‘कन्टेनर भित्रिने संख्या ३ बाट बढाएर ५ पुर्‍याइएको छ,’ भन्सार अधिकृत दयनन्द केसीले भन्नुभयो, ‘नाकाबाट दुवैतर्फको व्यापार सहजीकरण गर्न चीन सकारात्मक रहेको पाएका अनौपचारिक जानकारी आएको छ।’

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नाका सञ्चालनका लागि पहल गरिरहेको भन्सार प्रमुख केसीले बताउनुभयो।