चिनियाँ टोलीले रसुवा पुगेर थाल्यो केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन
2023-01-12 16:06:03cri
Share with:

बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ। चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको अनलाइन खबरले लेखेको छ।

रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो। चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसँग रसुवा र नुवाकोट पुगेका हुन्।

विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउनेछ। पहिलो एक वर्षमा सर्भेको काम सकिने छ भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्साङ्कको काम गरिनेछ। अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने कार्यतालिका छ।

विभागका एक अधिकारीका अनुसार चिनियाँ टोलीले काठमाडौंमा नै कार्यालय राख्नेछ। अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरु स्थापना हुनेछन्। चीनले आफ्नै खर्चमा अध्ययनको काम गर्नेछ। सुरक्षा र सहजीकारणको काम नेपाली पक्षले गर्नेछ।

चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने थियो। केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो। त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो।

चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन। चीनले शून्य कोभिड-१९ नीति हटाएर यात्रा प्रतिबन्धहरु खुला गरेपछि यो परियोजनाको काम अब कार्ययोजनाअनुसार नै हुने अपेक्षा छ।

अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ। त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरुसम्म हुनेछ।