नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतलाई काठमाडौँमा स्वागत
2023-01-13 16:11:08CRI
Share with:

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङलाई काठमाडौँमा विभिन्न मैत्री संगठनका अधिकारीहरूले स्वागत गरेका छन्। काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीसहित विभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेको बाह्रखरी अनलाइनले लेखेको छ।

कार्यक्रममा राजदूत सोङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुवै देशले सधैँ एकार्काको सम्मान, विश्वास र सहयोग रहँदै आएको बताउनुभयो।

नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको भन्दै राजदूत सोङले अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमको भएको टिप्पणी गर्नुभयो।

नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैँझैँ नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकताअनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्ने राजदूत सोङले बताउनुभयो।

राजदूत सोङले नेपालका लागि आफू २२ औँ चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठूलो सम्मानका रूपमा लिएको उल्लेख गर्नुभयो। नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट छक्क परेको उहाँले उल्लेख गर्नुभयो।

राजदूत सोङ गत आइतबार कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नु भएको हो।