काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती खोँचमा दुर्घनाग्रस्त भएको छ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाउनु भएको थियो। प्राधिकरणका अनुसार उक्त विमानमा ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेका छन्। जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्। त्यसैगरी कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ। दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ। दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ।
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल प्रस्थान गर्नुभएको उहाँको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।
पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिनु भएको गोरखापत्र अनलाइनले लेखेको छ।
“मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।”