डलरमा तीन प्रतिशत बढ्यो नेपालमा विदेशी विनिमय सञ्चिति
2023-01-15 16:31:04CRI
Share with:

नेपालमा चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा तीन प्रतिशतले सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ८२ करोड कायम भएको कारोबार अनलाइनले लेखेको छ। गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको डलर सञ्चिति यो मंसिरमा तीन प्रतिशतले वृद्धि भएको हो।

मंसिर मसान्तको सञ्चिति १० महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ। ‘यो सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ केन्द्रीय बैंकले भनेको छ। नेपाली रुपैयाँमा हेर्दा भने विदेशी विनिमय सञ्चितिमा ६.३ प्रतिशतको सुधार छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँमा बढी सञ्चिति देखिएको हो।

मंसिर मसान्तमा नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तको तुलनामा यो ६.३ प्रतिशतले बढी हो। गत असार मसान्तमा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको थियो। राष्ट्र बैंकका अनुसार कुल सञ्चितिमध्ये केन्द्रीय बैंकमा रहेको सञ्चिति मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेको छ। राष्ट्र बैंकमा मंसिर मसान्तमा ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ सञ्चिति रहेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रहेको थियो।

यस्तै, बैंक तथा वित्तीय संस्थासँग मंसिर मसान्तमा १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ सञ्चिति रहेको छ। असार मसान्तको तुलनामा यो सञ्चिति ३.८ प्रतिशतले कम हो। असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा यस्तो सञ्चिति १ खर्ब ५९ अर्ब ४१ करोड रहेको थियो। मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७९ असार मसान्तको तुलनामा मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.१४ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.६९ प्रतिशतले अवमूल्यन भएको थियो। २०७९ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३१.६४ रुपैयाँ पुगेको छ। गत असार मसान्तमा उक्त विनिमय दर १२७.५१ रुपैयाँ रहेको थियो।

चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ।

चालू आर्थिक वर्षको मंसिर मसान्तमा रेमिटेन्स (विप्रेषण) आप्रवाह २३ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा रेमिटेन्स ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिटेन्स १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष रेमिटेन्स ६.८ प्रतिशतले घटेको थियो।

चालू आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो। चालू आर्थिक वर्षको कात्तिक मसान्तमा ८.८ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति मंसिर महिनामा केही नियन्त्रणमा आएको हो। राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षको मंसिर महिनामा कर्जाको ब्याजदर थप महँगो बनेको छ। निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगो बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत रहेको छ। गत कात्तिकमा यस्तो ब्याजदर १२.६५ प्रतिशत रहेको थियो।

मंसिर महिनामा निक्षेपको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको मंसिर महिनामा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत रहेको थियो भने निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेको थियो। २०७८ मंसिरमा ८.२५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधारदर बढ्दै २०७९ मंसिरमा १०.६९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

चालू आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ७३ अर्ब ३० करोड कर्जा विस्तार गरेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा विस्तार १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको थियो। तर, पाँच महिनासम्म आइपुग्दा कर्जा जम्मा १.६ प्रतिशतले मात्रै वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.४ प्रतिशतले बढ्दै ४ खर्ब २३ अर्ब १३ करोड रुपैयाँले विस्तार भएको थियो। वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।