अपि पावरको छैटौँ माथिल्लो चमेलिया आयोजनाको निर्माण अन्तिम चरणमा
2023-01-15 16:34:23CRI
Share with:

अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैटौँ आयोजनाको रूपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। दार्चुला जिल्लामा कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको बाह्रखरी अनलाइनले लेखेको छ।

कम्पनीले मिश्रित ऊर्जा नीतिलाई आत्मसाथ गर्दे ४ मेगावाट क्षमताको चन्द निगापूर सौर्य आयोजना, एक मेगावाट क्षमताको ढल्केवर सौर्य आयोजना र एक मेगावाट क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरी यी सौर्य आयोजनाहरूसमेत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ।

दुईवटा जलविद्युत आयोजनाहरू र तीनवटा सौर्य आयोजनाहरू सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापन कालबाट नै सेयरधनीहरूलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो ऊर्जा कम्पनी रहेको छ।

कम्पनीले आफ्नो छैठौँ आयोजनास्वरूप ४० मेगावाट क्षमतको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो। दार्चुला जिल्लामा बहने चमेलिया नदीमा उक्त आयोजना निर्माण भइरहेको छ।

आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेसनमा १३२ केभीका टावरहरूबाट जडान गरिनेछ।

आयोजनाको निर्माण कम्पनीले २४ महिनाभित्रै सम्पन्न गर्न लागेको हो। कम्पनीको यो छैठौँ आयोजनाको निर्माणपछि कम्पनीले सेयरधनीहरूलाई अझ आकर्षक लाभांश दिन सक्ने समेत जनाएको छ।

यो आयोजना विसं २०८० साल वैशाखभित्र सञ्चालनमा आउनेसमेत कम्पनीले जनाएको छ। हाल आयोजनाको विद्युत गृह, सर्ज ट्याङ्क, सवस्टेसनको निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेको छ भने एलान्मेन्टतर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिल कार्य भइरहेको कम्पनीले जानकारी दिएको छ।

आयोजनामा जेपर्ट, अस्ट्रेलिया आयात गरिएका मेसिनहरू साइटमा जडानको कार्यसमेत सुरु गरिएको छ। आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाइमा रहेका कन्सोर्टियम बैंकहरूको लगानी रहेको छ।